ट्रम्पको आगमनसँगै डिभि कार्यक्रम खारेज हुन लागेको हो ?

३ मंसिर २०८१, सोमबार १६:००

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः पद ग्रहण गरेपछि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डि.भी.) कार्यक्रम खारेज गर्न सक्ने सम्भावना रहेको छ । २०१७ साल नोभेम्बरमा राष्ट्रपतिको पहिलो कार्यकालका क्रममा ट्रम्पले यो कार्यक्रमलाई असुरक्षित भन्दै यसलाई अन्त्य गर्न आग्रह गरेका थिए ।

उनले डाइभर्सिटी भिसा लटरी कार्यक्रमले योग्यतामा आधारित आप्रवासन प्रणालीलाई प्राथमिकता दिन नसकेको र अमेरिकाको सुरक्षामा चुनौती खडा गरेको बताए थिए । उनले कार्यक्रमलाई ‘नराम्ररी व्यवस्थापन भएको प्रणाली’ भनेका थिए ।

यो कार्यक्रम सन् १९९० मा राष्ट्रपति जर्ज एच.डब्लु. बुशको कार्यकालमा सुरु भएको हो । यसले परम्परागत रूपमा कम आप्रवासी पठाउने देशहरूबाट मानिसहरूलाई अमेरिकामा अवसर प्रदान गर्ने उद्देश्य राखेको थियो ।

ट्रम्पले आफ्नो कार्यकालमा ‘मेरिट आधारित आप्रवासन प्रणाली’ ल्याउने पक्षमा रहेका थिए । उनले २०१७ मा दुई रिपब्लिकन सांसदद्वारा प्रस्तावित कानुनलाई समर्थन गर्दै कानुनी आप्रवासन २०२७ सम्म आधा कटौती गर्ने लक्ष्य राखेका थिए ।

पुनः निर्वाचित भएपछि ट्रम्पले यस विषयमा आफ्नो पुरानो दृष्टिकोणलाई अघि बढाउने र उक्त लटरी कार्यक्रमको खारेजीका लागि काम गर्न सक्ने सम्भावना छ । यदि यो कदम उठाइयो भने आप्रवासनमा व्यापक प्रभाव पर्न सक्नेछ ।

उनले पहिले भनेका थिए, ‘हामी लटरीमार्फत गलत मानिसहरूलाई ल्याउन चाहँदैनौं।’ साथै, उनले राजनीतिक सहिष्णुतालाई दोष दिँदै ‘स्मार्ट र बलियो’ कदम चाल्नुपर्ने बताइसकेका थिए ।

अब ट्रम्पको प्रशासनले यसबारे के निर्णय गर्छ भन्ने चासोको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*