डेडिकेटेड र ट्रंक लाइन विवादः टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बिलबिजक विवाद समाधानका लागि अध्ययन तथा पुनःगणना गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ। समितिको संयोजक राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरविन्द मिश्रलाई तोकिएको छ।
समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगद्वारा सिफारिस गरिएका सुझाव र मन्त्रिपरिषद्का निर्णयका आधारमा पहिलेका बिलबिजकलाई टाइम अफ डे (टीओडी) मिटरिङः प्रणालीको आधारमा पुनः गणना गर्नेछ।
यदि पुराना बिलमा कुनै त्रुटि भेटिएमा, ती सच्याउने अधिकार समितिलाई दिइएको छ। अध्ययन टोलीमा प्राधिकरणका एक जना पूर्वकर्मचारी र एकजना चार्टर्ड एकाउन्टेन्ट समेत समावेश गरिएका छन्।
समितिले विवादास्पद बिलहरूको समाधान र व्यवसायिक ग्राहकहरूबीचको विश्वास कायम गर्नका लागि अध्ययन प्रक्रिया अघि बढाउने योजना बनाएको छ। यो कदमले प्राधिकरण र उपभोक्ताबीच उत्पन्न विवाद कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।