व्यापारमा चमक देखिएपनि होटलहरुको नाफामा संकुचन, नेप्सेमा सूचीकृत ६ कम्पनीको कस्तो छ वित्तीय चित्र ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटेलहरुको व्यापारमा वृद्धि भएको देखिएता पनि नाफामा भने संकुचन देखिएको छ । नेप्सेमा सूचीकृत ६ होटलहरुको नाफा १२.९९ प्रतिशतले ओरालो लागेको हो ।
हाल सोल्टी, तारागाउँ रेजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल, कालिञ्चोक दर्शन र सिटी होटेल नेप्सेमा सूचीकृत रहेका छन् । पर्यटकीय व्यवसायिक गतिविधि तथा क्रियाकलापहरूमा वृद्धि भएको दाबी हुँदै आएको भएपनि नाफामा गिरावट नै देखिएको छ ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनामा हवाईमार्गबाट मात्रै ३ लाख ५८ हजार १७ विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । नेपाल भारतीय र चिनियाँको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । छिमेकी राष्ट्र भएकाले पनि उक्त देशहरुबाट नेपालमा आउने पर्यटकको संख्या निरन्तर बढ्दै गएको हो । व्यापार वृद्धि हुँदै गएको भएपनि होटलहरुको नाफा भने बढ्न सकेको छैन ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा होटेल समूहले कुल १२ करोड ७७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको देखाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले कम हो । गत आवको पहिलो त्रैमासमा यी होटेलहरूको नाफा १४ करोड ६८ लाख ३२ हजार रुपैयाँ थियो ।
यता, होटेलहरूको कुल व्यापारमा भने सुधार भएको छ । चालु आवको पहिलो त्रैमासमा यी होटेलहरूको व्यापार ५.०८ प्रतिशतले वृद्धि भएर १ अर्ब ३१ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यो व्यापार १ अर्ब २४ करोड ७९ लाख रुपैयाँ मात्र रहेको थियो । व्यापारमा आएको यो सुधारले नेपाली पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सहभागिता बढ्दै गएको संकेत गरेको छ ।
व्यापारमा देखिएको सुधारले सकारात्मक संकेत देखिए पनि नाफाको कमीले होटेल तथा पर्यटन क्षेत्रले सामना गरिरहेका समस्या उजागर गरेको छ । कर्मचारी व्यवस्थापन, सेवा विस्तार र अन्तर्राष्ट्रिय बजारसँगको प्रतिस्पर्धा अझै चुनौतीपूर्ण छ ।
नाफामा नम्बर वान सोल्टी
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा सोल्टी होटल रहेको छ । यसले १२ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।
सूचीकृत कम्पनीहरूमध्ये सोल्टी होटलले सबैभन्दा धेरै नाफा कमाउँदै आफ्नो बलियो उपस्थिति देखाए पनि कालिन्चोक दर्शन र सिटी होटल भने नोक्सानमा रहेका छन् । कालिन्चोक ८५ लाख ७० हजार र सिटि होटल ५ करोड ६२ लाख ७७ हजार रुपैयाँ ऋणत्मक रहेका छन् ।
यता, तारागाउँ रिजेन्सि ४ करोड ५६ लाख, चन्द्रागिरि हिल्स २ करोड ५५ लाख र ओरियन्टल होटल ३ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ ।
व्यापार कस्को कति ?
चालु आर्थिक वर्षको तीन महिनामा सोल्टी होटलले सर्वाधिक ५१ करोड ४३ लाख रुपैयाँको व्यापार गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८.६९ प्रतिशतले बढी हो ।
त्यस्तै, तारागाउँ रिजेन्सिको व्यापार १८ प्रतिशतले बढेर २७ करोड ५२ लाख रुपैयाँ, ओरियन्ट होटलको ०.३६ प्रतिशतले घटेर २१ करोड रुपैयाँ, चन्द्रागिरि हिल्सको ४.९९ प्रतिशतले घटेर १९ करोड ५८ लाख रुपैयाँ, सिटि होटलको ४.९४ प्रतिशतले घटेर ११ करोड रुपैयाँ र कालिन्चोक दर्शनको ९५ प्रतिशतले घटेर ४० लाख रुपैयाँ पुगेको छ ।
प्रतिशेयर आम्दानीमा कस्को देखियो सुधार ?
नेप्सेमा सूचीकृत ६ होटलमध्ये २ कम्पनीको प्रतिशेयर आम्दानी ऋणत्मक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको अवधिमा सिटि होटलको प्रतिशेयर आम्दानी ३.३६ रुपैयाँ ऋणात्मक र कालिन्चोकको १.४३ रुपैयाँ ऋणत्मक रहेको छ ।
यसअवधिमा सर्वाधिक प्रतिशेयर आम्दानी हुने होटलमा तारागाउँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २.३३ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २.३४ रुपैयाँ रहेको थियो ।
साथै, चन्द्रागिरिको प्रतिशेयर आम्दानी १.६६ रुपैयाँ, सोल्टीको १.३० रुपैयाँ र ओरियन्टलको ०.०३ रुपैयाँ रहेको छ ।