उदण्ड झाँक्री प्रकाश भुजेलले उजाडे नगरकोटी परिवार, दुई नाबालिक छोरी बने टुहुरा

प्रत्यक्ष दर्शीको बयान : एक हातले गाडी चलाउँदै एक हातले लाइभ गर्दै थिए, झाँक्री भुजेल
३ मंसिर २०८१, सोमबार ११:२१

काठमाडौं । उग्र एवं उदण्ड झाँक्री प्रकाश भुजेलले कागेश्वरी मनोहरा २ बस्ने नगरकोटी दम्पतीको परिवार नै उजाडिदिएका छन् । कार्तिक २८ गते दाँतको उपचार गराउन भन्दै पत्नी सानुमायालाई मोटरसाइकलमा हालेर हिँडेका नारायण नगरकोटी दम्पतीलाई झाँक्री भुजेलको कारले ठक्कर दिएको थियो ।

भुजेलले गराएको दुर्घटनापछि नारायणको अस्पताल लगेको केही समय मै मृत्यु भएको थियो । ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएकी सानुमायाको समेत निधन भएको छ । परिवारका सदस्यहरुले दिएको जानकारी अनुसार सानुमाया तीन महिनाकी गर्भवती थिईन् । यद्यपि, उनको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।

सामान्य खेती किसानी गरेर परिवार धान्दै आएका नारायणले भएको जग्गा जमिन बेचेर नयाँ घर बनाउने सुरसार गरेका थिए भने आर्थिक जोहोका लागि उनले इन्ड्राइभमा दर्ता गर्ने गरी ऋणधन गरेर एउटा सामान्य ईभी किनेका थिए ।

कात्तिक २८ गते साँखुस्थित अस्पताल जाने क्रममा इन्द्रायणीमा भुजेलको प्राडोले नगरकोटी दम्पती सवार मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल १५-२० मिटर पर उडेर बजारिएको प्रत्यक्षदर्शीको हवाला दिंदै अवाध्यक्ष सुरज खड्काले बीमापोष्टलाई बताए ।

अध्यक्ष खड्काका अनुसार झाँक्री भुजेलको गाडी समेत उछिट्टीएर पसलको सटरभित्र पसेको थियो । अध्यक्ष खड्का भन्छन्, ‘प्रत्यक्ष दर्शीहरुले भने अनुसार क्राँकी भुजेल एक हातले गाडीको स्टेरिङ घुमाइरहेका थिए भने अर्कोहातले मोबाइल समातेर फेसबुक लाइभ गरिरहेका थिए । गाडी ओभरस्पिड थियो भन्ने सुनिन्छ । ट्राफिक र प्रहरीको अनुसन्धान रिपोर्टले पनि यसको सत्य तथ्य बताउला ।’

कागेश्वरीतिर तरकार तथा अन्नबालीको खेतीपाती गरेर बसेको नगरकोटीलाई भुजेल समर्थकहरुले घर जग्गा कारोबारी र उच्च आम्दानी भएको व्यक्ति भन्न समेत भ्याएका छन् । तर, वडाध्यक्ष खड्काले ती सबै अनावश्यक कुरा भएको र भुजेलको लापर्वाहीले नगरकोटी दम्पतीको अकाल मृत्यु भएको बताए ।

उनका अनुसार नारायण दम्पतीका दुई छोरी टुहुरा भएका छन् । उनी भन्छन्, ‘११ वर्षकी एउटा छोरी र ४-५ वर्षीय अर्को छोरी छन् । परिवारमा नारायणका भाइ छन् । नारायण र सानुमाया नै उनीहरुका लागि अभिभावक थिए । अब उनीहरु अभिभावक विहिन भएका छन् । अब हामीले सामाजिक रुपमा ती नानीहरुको संरक्षण गर्नुको विकल्प छैन ।

नारायणको परिवार सामान्य कृषक परिवार भएको र जागिर नभएका कारण इन्ड्राइभ चलाउने तयारीमा रहेको जानकारी वडाध्यक्ष खड्काले दिएका छन् । दुर्घटना गराएर भागेका झाँक्री भुजेललाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*