बैकुण्ठ अर्यालले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय योजना आयोगमा हाजिर भएको भोलिपल्टै निवर्तमान मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । आइतबारमात्र मुख्य सचिवसरहको जिम्मेवारीसाथ राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले भोलिपल्टै सोमबार राजीनामा दिएका हुन् । आगामी मन्त्रिपरिषद बैठकमा अर्यालको राजीनामा पेश हुने र स्वीकृत हुने बताइएको छ ।
१४ कार्तिकमा आन्तरिक सेटिङ गरेर भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आफ्नो फेस सेभका लागि राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहकै जिम्मेवारी मागेको र हाजिर गरेको भोलिपल्टै राजीनामा दिइएको बताइएको छ ।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई गुम्राहमा पारेर भ्रष्टाचारको मुद्दाबाट क्लिन चिट लिने गतिविधि व्याप्त हुँदै गएको छ । अख्तियारमा गोप्य रुपमा बयान दिन उपस्थित हुने र पर्याप्त प्रमाण नपुगेको लगायत बहाना बनाएर क्लिन चिट माग्नेको मनोबल बढेको अख्तियार गोप्य स्रोतले बीमापोष्टलाई जानकारी दिएको छ ।
रमानापत्र लिएर आइतबार मात्रै निर्वतमान मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भनी लागेको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।
मुद्दा जितेसँगै निलम्बन फुकुवा भएसँगै उनी पुनः सरकारी जिम्मेवारीमा फर्किएका थिए । अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो । यो पदका लागि आयोगमा कुनै जिम्मेवारी नतोकिएकाले उनले त्यहाँ कुनै अधिकारसहित काम भने गर्न पाएका थिएनन् । यस्तै, अर्यालविरुद्ध टेरामक्स खरिद प्रकरणको अनुसन्धान समेत बाँकी रहेको बताइन्छ ।
अर्याल र एकनारायण अर्याल दुवै जना नेपाल सरकारको विशिष्ट श्रेणीको मुख्यसचिव वा सरहको पदमा रहेको बताइएको छ । १० असारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई योजना आयोगमा सिर्जित विशेष दरबन्दीका लागि रमाना दिएको थियो ।