मर्जरपछि वित्तीय सूचकहरुमा कुन जीवन बीमा कम्पनी कति अब्बल ? (तथ्याङ्क सहित)
काठमाडौँ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसमा अधिकांश कम्पनीहरुले मुनाफा, बीमा शुल्क आर्जन लगायतका वित्तीय सूचांकहरुमा सामान्य ग्रोथ गर्न सफल भएका छन् ।
केही वर्षघिदेखि जीवन बीमा क्षेत्रमा सुरु भएको मर्जर नीतिले तत्कालिन समयका नौ वटा जीवन बीमा कम्पनीहरु मर्ज भई चार वटा बनेका छन् । जसमा सूर्यज्योति, सानिमा रिलायन्स, हिमालयन र प्रभु महालक्ष्मी लाइफ रहेका छन् । मर्ज भएका कम्पनीहरुको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांशको मुनाफा, बीमा शुल्क आर्जन बढेतापनि कुल दावी भुक्तानीमा चाँही सामान्य गिरावट आएको छ ।
मर्ज भएका चार वटै जीवन बीमा कम्पनीहरुले आफ्नो जीवन बीमा कोषको आकार पाँच प्रतिशतदेखि ४५ प्रतिशतसम्म बढाएका छन् । साथै, गत आवको सोही अवधिको तुलनामा बोनश शेयर वितरण गरेसँगै प्रभु महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफको चुक्ता पूँजी बृद्धि भएको छ ।
त्यस्तै, कुल बीमा शुल्क आर्जनमा हिमालयन लाइफ इन्स्योरेन्स बाहेक अन्य तीन वटा कम्पनीको सामान्य अंकले बृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा सूर्यज्योति लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीको कुल बीमा दावी भुक्तानीमा गिरावट आएको छ ।
मर्ज भएका ४ जीवन बीमा कम्पनीको वित्तीय अवस्था कस्तो रहेको छ ?
सूर्यज्योति लाइफ इन्स्योरेन्स
सूर्यज्योति लाइफ इन्स्योरेन्सले प्रकाशित गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, कुल बीमा शुल्क आर्जन, कुल दावी भुक्तानी, मुनाफा लगायतका सूचकमा उल्लेख्य बृद्धि भएको छ ।
यस अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार गत आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले बढेर २९ अर्ब ४७ करोड रुपैयाँबाट ३६ अर्ब चार करोड ८९ लाख रुपैयाँ सञ्चिती भएको छ । कम्पनीले जीवन बीमा कोषको आकार बृद्धि गरेसँगै बीमितहरु थ्प सुरक्षित रहेका छन् ।
त्यस्तै, कम्पनीको कुल बीमा शुल्क आर्जन पनि ८.४६ अंकले बृद्धि भएर दुई अर्ब ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुलाई सक्रिय र व्यवस्थापकीय पक्षमा सुधार गर्दा कुल बीमा शुल्क आर्जनमा समान्य बृद्धि गर्न सफल भएका छन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले कुल बीमा दावी भुक्तानीलाई पनि बृद्धि गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दावी भुक्तानी ३५ प्रतिशतले बृद्धि भई ५२ करोड रुपैयाँबाट ७० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको मुनाफा पनि समान्य अंकले बढेको छ । यस अवधिमा कम्पनीको मुनाफा २.५ अंकले बढेर ११ करोड २५ लाख रुपैयाँबाट ११ करोड ५३ लाख रुपैयाँ रहेको छ । समग्र रुपमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको व्यवसाय सन्तोषजनक रहेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स
यस अवधिमा कम्पनीको जीवन बीमा कोष, मुनाफा, कुल बीमा शुल्क आर्जन, लगानी, व्याज आम्दानी, प्रति शेयर आम्दानी लगायतका वित्तीय सूचांकहरुमा सामान्य बृद्धि भएको छ ।
कम्पनीको जीवन बीमा कोषको आकार गत आवको सोही अवधिको तुलनामा ८.६३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको उक्त कोषमा १६ अर्ब ०६ करोड ६० लाख रुपैयाँ सञ्चिती रहेको छ ।
साथै, कम्पनीको व्यवसाय पनि ३.२७ प्रतिशतले बढेर एक अर्ब ५१ करोड रुपैयाँबाट एक अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । व्यवसायमा निरन्तर वृद्धिले सानिमा रिलायन्सलाई बलियो र दिर्घकालिन कम्पनीका रुपमा हेर्न सकिने वित्तीय विवरणले देखाएको छ ।
यस अवधिमा कम्पनीको मुनाफा १९ प्रतिशतले बढेर १३ करोड २९ लाख रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो चुक्ता पूँजीलाई पनि १८.३८ प्रतिशतले बढाएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३२ पैसाले बढेर १० रुपैयाँ ७४ पैसा रहेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्स
साविकका तीन जीवन बीमा कम्पनीहरु मर्जर भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स पनि सफलताको सिडी उक्लिरहेको छ । यस अवधिसम्म कम्पनी ६७ अर्ब ९० करोड रुपैयाँको बीमा कोष सञ्चिती गर्दै अगाडि बढिरहेको छ ।
तीन महिनाको अवधिमा कम्पनीको लगानी ६.३५ प्रतिशतले बढेर ६९ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई दिदैँ आएको ऋण सुविधा पनि बृद्धि गरेको छ ।
कम्पनीको कुल बीमा शुल्क आर्जन, दावी भुक्तानी र अभिकर्ता कमिसन सामान्य अंकले घट्न पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२.६६ रुपैयाँ रहेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
प्रभु महालक्ष्मी लाइफले पनि जीवन बीमा कोषको आकार बृद्धि गरेको छ । यस अवधिमा कम्पनीको बीमा कोषको आकार ४५.७७ प्रतिशतले बढेर १० अर्ब ९९ लाख रुपैयाँ सञ्चिती रहेको छ ।
कम्पनीको चुक्ता पूँजी पनि १० प्रतिशतले बृद्धि भई चार अर्ब ७२ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषको आकार चाँही ३४ प्रतिशतले घटाएको छ ।
समीक्षा अवधिमा कम्पनीको व्यवसाय पनि गत आर्थिक वर्षको तुलनामा सामान्य अंकले बढेको छ । यस अवधिमा कम्पनीको व्यवसाय ४.८३ प्रतिशतले बढेर एक अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल दावी भुक्तानी चाँही दोहोरो अंकले घटेको छ । कम्पनीको दावी भुक्तानी ३३ प्रतिशतले घटेर ३२ करोड ३५ लाख रुपैयाँमा सीमित बनेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको मुनाफा २५ प्रतिशतले बृद्धि भएर १० करोड तीन लाख रुपैयाँबाट १२ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
प्रति शेयर आम्दानी पनि एक रुपैयाँ ३४ पैसाले बढेर १० रुपैयाँ ६९ पैसा रहेको छ ।