चौधरी ग्रुपले नेपालमा बेच्दै आएको नेटा ईभीको उत्पादन बन्द, सशंकित नेपाली उपभोक्ता
काठमाडौँ । चौधरी ग्रुपले नेपालमा बेच्दै आएको चिनियाँ इलेक्ट्रिक गाडी उत्पादक कम्पनी नै बन्द भएको छ । चिनियाँ अटोमेकर होजन अटो अन्तर्गतको नेटा ईभी ब्रान्डले हालै चीनको झेजियाङ कारखानामा उत्पादन रोकेको र आफ्ना कर्मचारीहरुको तलब कटौती गरेको खुलासा भएको हो ।
इलेक्ट्रिक गाडी उत्पादक कम्पनीहरुको उत्पादन बन्द हुँदा नेपाली ग्राहकहरु सशंकित बन्न पुगेका छन्। यसले चौधरी समूहमार्फत नेपाली बजारमा लोकप्रिय बनेको नेटा ईभी खरीद गरेका उपभोक्ताहरूमा निराशा पैदा गरेको छ ।
चौधरी समूहले पछिल्लो समय चिनियाँ ईभी (इलेक्ट्रिक भेइकल) ब्रान्डहरू नेपालमा भित्र्याउँदै आएको छ । यी मध्ये, नेटा ईभी नेपाली बजारमा तुलनात्मक रूपमा सस्तो र आकर्षक गाडीका रूपमा पहिचान बनाएको थियो । तर, नेटा ब्रान्डका गाडी उत्पादन बन्द हुँदा ग्राहकहरूले आवश्यक सेवा तथा पार्ट्स प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।
नेटा ब्रान्डको स्थापना होजन अटोले २०१८ मा एक सामान्य ईभी निर्माता कम्पनीका रूपमा गरेको थियो । यसले मुख्यतः बजेटमैत्री गाडीहरू उत्पादन गरि रहेको थियो । जस्तै नेटा भी सन् २०२२ मा नेटाले १ लाख ५० हजारभन्दा बढी गाडीको वार्षिक बिक्री गर्दै नियो, लि अटो र एक्सपङ जस्ता ब्रान्डहरूलाई पछि पार्न सफल भएको थियो ।
तर, सस्तो गाडीबाट महँगा गाडीहरू उत्पादन गर्ने रणनीतिमा लागेपछि नेटाले ठूलो चुनौती सामना गर्नुप-यो । यसै वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म चीनमा नेटाले केवल ५३,८५३ इकाई गाडी मात्र बिक्री गर्न सकेको छ, जुन वार्षिक लक्ष्यको ३० प्रतिशतभन्दा कम हो । अक्टोबर महिनाको बिक्री विवरणसमेत कम्पनीले सार्वजनिक गर्न सकेको छैन ।
यस वर्ष, नेटाले आफ्ना कर्मचारीहरूको तलब कटौती गरेको छ । अक्टोबरमा, केही कर्मचारीहरूले कम्पनीले अघिल्लो महिनाको तलब समयमा उपलब्ध नगराएको गुनासो गरेका थिए । उच्चस्तरीय कर्मचारीहरूको तलब ३० प्रतिशतसम्म कटौती गरिएको थियो ।
नेटा ब्रान्डका सीईओ झाङ यङ अहिले कम्पनीमा जानै छोडेको बताइदै आइरहेको छ । नेटा ब्रान्डका मूल कम्पनी होजन अटोले सन् २०२१ देखि २०२३ सम्म लगातार घाटा व्यहोर्दै आएको छ । २०२१ मा ४.८४ अर्ब युआन (६७६ मिलियन अमेरिकी डलर) घाटा व्यहोरेको कम्पनीले २०२२ मा ६.६७ अर्ब युआन (९३० मिलियन अमेरिकी डलर) र २०२३ मा ६.८७ अर्ब युआन (९६० मिलियन अमेरिकी डलर) घाटा व्यहोरेको थियो ।
यसका अतिरिक्त, होजन अटोले यस वर्ष जुन महिनामा हङकङ स्टक एक्सचेन्जमा सूचीकरणका लागि आवेदन दिएको थियो । तर, यो प्रक्रिया पूरा भए पनि यसको बिक्रीमा सुधार आउन सकेको छैन ।
नेपालमा चौधरी समूहले नेटा इभीलाई प्रिमियम इलेक्ट्रिक गाडीका रूपमा प्रचार-प्रसार गरेको थियो । सस्तो मूल्यमा आधुनिक विशेषतायुक्त गाडी दिने प्रतिबद्धता सहित यो गाडी लोकप्रिय बनेको थियो । तर, हालको उत्पादन बन्दको कारणले ग्राहकहरूले नेटा ईभीका गाडीका लागि आवश्यक सेवा, पार्ट्स र मर्मतसम्भार प्राप्त गर्न असहजता भोग्नुपर्ने अवस्था सिर्जना भएको छ। ग्राहकहरूको लागि गाडी सञ्चालनका लागि निरन्तर मर्मत र पार्ट्स आवश्यक हुन्छन्, र जब उत्पादन बन्द हुन्छ, त्यस्तो सहारा पाउन कठिनाइ हुन्छ। यसले ग्राहकहरूको विश्वासमा ठूलो धक्का पुर्याउनेछ र यो समस्या दीर्घकालीन रूपमा ग्राहकहरूको सन्तुष्टि र विश्वास घटाउने देखिएको हो ।
नेटा ईभीको उत्पादन बन्द भएपछि, ग्राहकहरूले गाडीका लागि आवश्यक पार्ट्स र मर्मतसम्भारका सेवाहरू प्राप्त गर्न कठिनाइ झेल्नु पर्ने देखिन्छ। सेवा केन्द्रहरूको अभाव र पार्ट्स आपूर्तिमा कमीका कारण उपभोक्ताहरूलाई समस्याको सामना गर्नुपर्ने सम्भावना छ। यसले ग्राहकको अनुभवलाई प्रतिकूल बनाउँछ र यसका कारण नेपाली बजारमा नेटा ईभीको लोकप्रियता घट्दै जाने संकेत गरिएको छ । जसको असर कम्पनीको छवि र बजारस्थितिमा लामो समयसम्म पर्ने प्रष्ट छ ।