साइबर ठगीबारे ‘रणनीतिक विश्लेषण प्रतिवेदन’ सार्वजनिक, १८-२४ उमेरका व्यक्ति ठगीमा बढी संलग्न
काठमाडौँ । वित्तीय जानकारी इकाइले रणनीतिक विश्लेषण प्रतिवेदन, २०२४ सार्वजनिक गरेको छ। यस प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विषयमा विस्तृत विश्लेषण गरिएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार राष्ट्र बैंक मार्फत नेपाल सरकारसमक्ष पेश गरिएको वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको हो।
प्रतिवेदनले साइबर प्रविधिमा आधारित ठगीका विशेषता र ठगीबाट प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिहरु उजागर गरेको छ। सामाजिक सञ्जाल र भुक्तानी प्रणालीको दुरुपयोग गरी हुने यस्ता ठगीका विविध तरिकाहरूमा गहिरो विश्लेषण गरिएको छ। सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त शड़ास्पद कारोबार विवरणका आधारमा युवा वर्ग, विशेषगरी १८ देखि २४ वर्षका व्यक्तिहरू, ठगीमा संलग्न रहेको पाइएको छ। तीमध्ये विद्यार्थी पेशा उल्लेख गरेका व्यक्तिहरूको संलग्नता बढी रहेको देखिएको छ।
प्रतिवेदन अनुसार, शङ्कास्पद खाताहरू सञ्चालन भएको तीन महिनाभित्र नै ठगीका गतिविधि भएको तथ्य फेला परेको छ। साइबर ठगीका प्रमुख तरिकाहरूमा गिफ्ट पार्सल ठगी, सामाजिक सञ्जालमा नक्कली पहिचान बनाउने, नक्कली अनलाइन व्यापार प्लेटफर्म, ओटीपी ठगी र लटरी ठगी जस्ता प्रविधिहरू पाइएको छ।
यस प्रतिवेदनले कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय, नियामक, तथा सुपरिवेक्षकीय निकायका लागि साइबर ठगी न्यूनीकरण गर्न विशेष सिफारिसहरू गरेको छ। साथै, सूचक संस्थाहरूका लागि साइबर ठगी सम्बन्धी ‘रेड फ्ल्याग्स’ को सूची तयार पारिएको छ। प्रतिवेदनले अन्तर्राष्ट्रिय प्रयासहरूको उल्लेख गर्दै यस्ता ठगी न्यूनीकरण गर्न आवश्यक रणनीतिक उपायहरू प्रस्तुत गरेको छ।
FIU-Nepal-Strategic-Analysis-Report-2024-2