नेपाल बैंकले आयोजना गरेको समारोहमा राष्ट्रिय बीमा कम्पनीका सिईओ शिवहरि श्रेष्ठ गम्भीर घाइते, टाउकोमा सात टाँका
काठमाडौं । नेपाल बैंकको ८८ औं बार्षिकोत्सव कार्यक्रममा आमन्त्रण गरिएका अतिथि राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवहरि श्रेष्ठ गम्भिर घाइते हुन पुगेका छन् । नेपाल बैंक व्यवस्थापनको लापरवाहीका कारण सिईओ श्रेष्ठको टाउकोमा गम्भिर चोट लाग्न पुगेको हो ।
गत शुक्रबार नेपाल बैंकको केन्द्रीय कार्यालय भुगोलपार्कस्थित मुख्य भवन परिसरमा बैंकको ८८ औं बार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । सो समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अथितिका रुपमा उपस्थित थिए । अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई समेत आमन्त्रण गरिएको सो कार्यक्रममा अतिथिका रुपमा अर्थमन्त्री उपस्थित थिएनन् ।
नेपाल बैंकका सिईओ तिलक राज पाण्डे पनि उपस्थित थिए । कार्यक्रममा राष्ट्रिय बीमा कम्पनी सिईओ शिवहरि श्रेष्ठ, अन्य सरकारी लगानीका वित्तीय कम्पनीका सिईओहरु पनि उपस्थित थिए । कार्यक्रम सुरु भएर स्वागत मन्तव्य सकिएपछि कर्मचारीहरुलाई पुरस्कार वितरण कार्यक्रम चलिरहँदा मञ्चमा राखिएको ठूलो लाइट एक्कासी तल खस्न पुग्यो र, राष्ट्रिय बीमा कम्पनीका सिईओ शिवहरि श्रेष्ठको टाउकोमा बजारियो । सिईओ श्रेष्ठ ठाउँको ठाउँमा ढले । उनलाई उठाएर तत्कालै अस्पताल पुर्याइयो । श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेको छ । सिईओ श्रेष्ठको टाउकोमा सात टाँका लगाईएको छ ।
नेपाल बैंक प्रशासनले सिईओ पाण्डेसहितको मिलेमतोमा सस्तोमा कार्यक्रम गरी दाम चपाउन खोज्दा कमजोर व्यवस्थापन गरिएको र सोही कारण राष्ट्रिय बीमा कम्पनीका सिईओ श्रेष्ठ कार्यक्रमस्थलमै गम्भिर घाइते हुन पुगेका छन् । नेपाल सरकारको लगानी रहेको नेपाल बैंकका सिईओ तिलकराज पाण्डेसँग घटनाबारे जिज्ञाशा राख्न खोज्दा केही बताउन चाहेनन् । साथै मञ्च बनाउने इभेन्ट म्यानेजमेन्टको बारेमा थप विवरण दिन चाहेनन् ।