शिखर इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदानः सन्धिखर्कमा ५० युनिट रगत संकलन

२ मंसिर २०८१, आईतवार ०८:४९

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ। यसैक्रममा अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न कार्यक्रमबाट ५० युनिट रगत संकलन गरिएको छ।

शिखर इन्स्योरेन्स सन्धिखर्क शाखाले आयोजना गरेको कार्यक्रममा ५० जना रक्तदाताहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। शाखा प्रमुख लक्ष्मण केसीका अनुसार वार्षिकोत्सवको अवसरमा देशभर रहेका शाखाहरूले यस्तै विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरिरहेका छन्।

रक्तदान कार्यक्रममा स्थानीय व्यवसायी, पत्रकार र स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो। संकलित ५० युनिट रगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, बुटवलमा पठाइएको छ।

त्यसैगरी, शिखर इन्स्योरेन्स तौलिहवा शाखाले पनि रक्तदान कार्यक्रम आयोजना गरी ३० युनिट रगत संकलन गरेको छ। तौलिहवा शाखाका प्रमुख अरूण कुमार मिश्नका अनुसार रक्तदानका लागि जनचेतना बढ्दै गएकोले ठूलो सहभागिता प्राप्त भएको हो।

स्वास्थ्यकर्मीहरूले रगत दानको महत्त्वबारे जानकारी दिँदै डेङ्गु लगायतका रोगहरूको प्रकोपका कारण रगतको अभाव भइरहेका बेला यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्। १८ देखि ६५ वर्ष उमेर समूहका स्वस्थ व्यक्तिहरूले रक्तदान गर्न सक्ने भएकाले नियमित रूपमा रक्तदान गर्न आग्रह गरिएको छ।

शिखर इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*