सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, हिमालयन र नेशनलमा कसको अवस्था कस्तो ?
काठमाडौं । हाल नेपालमा संचालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् ।
नेपाली बीमा क्षेत्रमा यी कम्पनीहरु ठूला र वित्तीय विवरणमा बलिया रहेका छन् । जहाँ हजारौं मानिसहरुले जीवन बीमा गरेर आफ्नो जीवन रक्षावरणको जिम्मा लगाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सलाई बीमापोष्टले वित्तिय विवरणमा आधारित रहेर दाँजेर हेर्दा यस्तो चित्र कोरिएको छ ।
चुक्ता पुँजी
चुक्ता पुँजीको आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिन्छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको चुक्ता पुँजी आठ अर्ब दुई करोड रुपैयाँ रहेको छ । त्यस्तै, तेस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी पाँच अर्ब २१ करोड रुपैयाँ रहेको छ ।
जीवन बीमा कोष
समीक्षा अवधिमा उल्लेखित कम्पनीहरुलाई जीवन बीमा कोषको आधारमा दाजेर हेर्दा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले जीवन बीमा कोषमा दुई खर्ब आठ अर्ब ४४ करोड रुपैयाँ संचित गर्न सफल भएको छ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफको जीवन बीमा कोष निकै नै मजबुत रहेको तथ्याङ्कमार्फत स्पष्ट रुपमा देख्न सकिन्छ ।
दोस्रो नम्बरमा रहेको नेशनल लाइफको जीवन बीमा कोषमा ८१ अर्ब ८४ करोड रुपैयाँ रकम संचिती रहेको छ । त्यस्तै, हिमालयन लाइफको जीवन बीमा कोषमा ६७ अर्ब ९० करोड रुपैयाँ सञ्चित रहेको छ ।
जगेडा कोष
तीन कम्पनीहरुको तुलनात्मक अध्ययन गर्दा जगेडा कोषमा पनि नेपाल लाइफ सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा उक्त कोषमा ७१ करोड १९ लाख रुपैयाँ संचित गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफको जगेडा कोषमा ६१ करोड ३७ लाख रुपैयाँ र हिमालयन लाइफको जगेडा कोषमा २३ करोड १७ लाख रुपैयाँ सञ्चित रहेको छ ।
कुल बीमा शुल्क आर्जन
तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा कुल बीमा शुल्कको आधारमा पनि नेपाल लाइफ नै सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब ९६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले चार अर्ब ९१ करोड रुपैयाँ र तेस्रो स्थानमा रहेको हिमालयन लाइफले चार अर्ब २७ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
खुद नाफा
वित्तीय विवरण सार्वजनिक गरेका सबै कम्पनीहरुको मुनाफामा वृद्धि भएको् छ । यस अवधिमा खुद नाफाको आधारमा हिमालयन लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले यस अवधिमा २५ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
दोस्रो नम्बरमा रहेको नेपाल लाइफको मुनाफा २० करोड ५४ लाख रुपैयाँ र नेशनल लाइफको मुनाफा १३ करोड ८३ लाख आर्जन गरेको छ । यद्यपि, जीवन बीमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।
कुल बीमा दावी भुक्तानी
तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा कुल बीमा दाबी भुक्तानीमा नेपाल लाइफ अगाडि रहेको छ । समीक्षा अवधिमा नेपाल लाइफले तीन अर्ब ६५ करोड रुपैयाँको कुल दावी भुक्तानी गरेको छ । बीमा कम्पनीहरुमा नयाँ व्यवसाय भित्रिएसँगै जोखिम पनि भित्रिन्छ । नेपाल लाइफ व्यवसायिक रुपले अगाडि भएको कारण कम्पनीको खुद बीमा दाबी भुक्तानी पनि बढी देखिएको हो ।
त्यस्तै, यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले दुई अर्ब २९ करोड रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सले एक अर्ब ५३ करोड रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ ।
कुल खर्च
समीक्षा अवधिमा खुल खर्चमा पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । विभिन्न शिर्षकमा कम्पनीले यस अवधिमा १६ अर्ब ५७ करोड रुपैयाँ खर्च गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफले ६ अर्ब ३० करोड रुपैयाँ र हिमालयन लाइफले पाँच अर्ब ८८ करोड रुपैयाँ कुल खर्च गरेका छन् ।
कुल कायम रेहको बीमालेख संख्या
कुल कायम रहेका बीमालेखको आधारमा नेशनल लाइफ अग्रस्थानमा रहेको छ । यस अवधिमा कम्पनीमा कुल १५ लाख ८८ हजार बीमा पोलिसी कायम रहेका छन् । नेपाल लाइफ इन्योरेन्समा १३ लाख ८८ हजार र हिमालयन लाइफमा तीन लाख तीन लाख ९८ हजार बीमा लेख संख्या कायम छन ।
प्रति शेयर आम्दानी
प्रति शेयर आम्दानीको आधारमा तीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययनको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अगाडी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा रहेको छ । दास्रोमा रहेको नेशनल लाइफको प्रतिशेयर आम्दानी १० रुपैयाँ ६६ पैसा र तेस्रो स्थानमा रहेको नेपाल लाइफको १० रुपैयाँ १ पैसा मात्र छ ।
प्रतिशेयर नेटवर्थ
प्रतिशेयर नेटवर्थको आधारमा तीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययनको आधारमा पनि हिमालयन लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, नेशनल लाइफको १३२ रुपैयाँ ४५ पैसा र नेपाल लाइफको १३१ रुपैयाँ ९९ पैसा रहेको छ ।
उपलब्ध तथ्याङ्क कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आधारबाट तयार गरिएको हो । शेयर कारोबारको लागि लगानीकर्ताले कारोवारको अन्तिम निर्णय लिनु अघि कम्पनीको बारेमा थप अनुसन्धान गनुपर्ने हुन्छ ।