सानिमा जिआइसी इन्स्योरेन्सको वित्तीय विवरणमा लोभलाग्दो ग्रोथ, नाफासँगै ईपीएसमा पनि उल्लेख्य बृद्धि

३० कार्तिक २०८१, शुक्रबार ११:०९

काठमाडौँ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, कुल बीमा शुल्क आर्जन लगायतका प्रमुख वित्तीय सूचांकहरुमा उल्लेख्य ग्रोथ देखिएको छ ।

चालु आवको तीन महिनामा कम्पनीको मुनाफा ५० प्रतिशतले बृद्धि भएर तीन करोड ३७ लाख रुपैयाँबाट पाँच करोड आठ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बलियो व्यवस्थापकीय पक्ष र बीमा शुल्क आर्जनले मुनाफा बृद्धिमा टेवा पुगेको हो ।

यस अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन गत आवको तुलनामा ६ प्रतिशतले बृद्धि भएर ३७ करोड चार लाख रुपैयाँबाट ३९ करोड ४१ लाख रुपैयाँ रहेको छ । साथै, कम्पनीले रि इन्स्योरेन्समा २६ करोड ३० लाख रुपैयाँ जम्मा गरेको छ ।

दुई लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ६४ लाख रुपैयाँ सन्चिती रहेको छ । कम्पनीको महाविपत्ती कोषमा चार करोड ६ लाख रुपैयाँ जम्मा गरिएको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

तीन महिनाको अवधिमा कम्पनीले १५ करोड दुई लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ । गत आवको तुलनामा कम्पनीको दावी भुक्तानी सामान्य अंकले घटेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुलाई दुई अर्ब ८४ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी दिन बाँकी रहेको छ । त्यस्तै, तीन महिनाको अवधिमा कम्पनीले ३० हजार ३१५ वटा पोलिसीहरु जारी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ६.७६ रुपैयाँबाट बढेर १०.१७ रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको नेटवर्थ प्रतिशेयर १५१ रुपैयाँ ५७ पैसा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*