तीन महिनामा हिमालयन रि इन्स्योरेन्सको नाफा २२ करोड, अधिकांश वित्तीय सूचकमा उल्लेख्य ग्रोथ

३० कार्तिक २०८१, शुक्रबार ०९:०४

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी २२.८० प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी समीक्षँ अवधिमा १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशत बढेको छ ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३० पैसा घटेर ८ रुपैयाँ ७१ पैसामा झरेको छ । असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*