प्रथम त्रैमासमा यूनाइटेड अजोडले गर्यो ३२ करोड रुपैयाँ आम्दानी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको प्रथम त्रैमासमा ३२ करोड रुपैयाँ कुल आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो।
आम्दानी घटेसँगै कम्पनीको नाफामा दबाब परेको छ। चालू आवको प्रथम त्रैमासमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ घाटा बेहोरेको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो।
चालू आवको पहिलो त्रैमाससम्म कम्पनीले १९ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको यसै अवधिमा कम्पनीले २३ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको खर्च ३१ करोड ६५ लाख रुपैयाँबाट बढेर ३४ करोड ५९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको बीमाकोषमा ३ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी रकम छ भने १ अर्ब ५४ करोड रुपैयाँबढी बीमितलाई दाबी भुक्तानी गर्न बाँकी छ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ छ। चालू आवको प्रथम त्रैमाससम्म कम्पनीले जगेडा कोषमा १ अर्ब १३ करोड रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड रुपैयाँ र स्पेशल रिजर्भमा झण्डै ९८ करोड रुपैयाँ सञ्चित गरेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ १० पैसा छ।