पहिलो त्रैमासमा राष्ट्रिय जीवन बीमा कम्पनीले कमायो २२ लाख रुपैयाँ नाफा
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा २२ लाख रुपैयाँ नाफा कमाएको छ। गत आवको यसै अवधिमा कम्पनीले ३ करोड ७८ लाख रुपैयाँ कमाएको थियो।
गत आवको पहिलो त्रैमासमा कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा बढेर ५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको खर्च पनि ५ अर्ब ५० करोड रुपैयाँबाट बढेर ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।
कम्पनीले चालू आवको असोज मसान्तसम्म ४ अर्ब ५९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको यसै समयमा कम्पनीले ४ अर्ब ५५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको जीवन बीमा कोषमा ५८ अर्ब रुपैयाँभन्दा बढी रकम छ।
कम्पनीको चुक्ता पूँजी १८ करोड रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमाससम्म जगेडा कोषमा ६१ करोड रुपैयाँ, महाविपत्ति कोषमा २ करोड रुपैयाँ सञ्चित गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १ पैसा छ।