रिलायबल नेपाल लाइफको नाफा ६७ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ११ अर्ब
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु वर्ष १९ करोड ९३ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको तुलनामा ६६.९९ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ११ करोड ९४ लाख ३ हजार रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीको जीवन बीमा कोषको आकार ९.४० प्रतिशतले बढेर १० अर्ब ९९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष १० अर्ब ५ करोड २४ लाख रुपैयाँ थियो ।
कम्पनीले चालु वर्ष १ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले १ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन १९ प्रतिशतले बढेको हो ।
तीन महिनाको अवधिमा कम्पनीको दाबी भुक्तानी १२.६५ प्रतिशतले बढेको छ भने लगानी तथा कर्जा ४६ प्रतिशतले बढेको छ । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ १९ पैसा छ ।