नाफासँगै बढ्यो शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा साढे २ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवमा ११ करोड २४ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९४ पैसाबाट बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ।
चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडा कोषमा ३५ करोड ६१ लाख रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड ५७ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ७६ करोड रुपैयाँ सञ्चित गरेको छ।
कम्पनीले चालू आवको पहिलो त्रैमासमा ५५ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा बढेर २८ करोड २२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा छ।