एलआइसी नेपालले बनायो एक खर्ब २४ अर्बको जीवन बीमा कोष, नाफासहित ईपीएसमा पनि बृद्धि
काठमाडौं । एलआईसी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार एक खर्ब २४ अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ ।
कूल दुई अर्ब ६५ करोड ३२ लाख चुक्ता पुँजि भएको एलआईसी नेपालको जीवन बीमा कोषमा एक खर्ब २४ अर्ब नौ करोड रुपैयाँ सचिंत रहेको छ । गत आवको यसै अवधीमा यस्तो कोषको आकार एक खर्ब २० अर्ब रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनी जीवन बीमा कोष ३.१९ प्रतिशतले बढाउन सफल भएको छ ।
समीक्षा अवधिमा कम्पनीको जगेडा कोष दुई अर्ब ६९ करोडबाट बृद्धि भई दुई अर्ब ७७ करोड रुपैयाँको बन्न पुगेको छ । कम्पनीले जगेडा कोषको आकार २.९२ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले सात करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले पाँच करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा कम्पनीको मुनाफा ३५ प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीको कुल बीमा शुल्क आर्जनमा पनि सामान्य बृद्धि भएको छ । गत आवको सोही अवधिमा चार अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आवमा १.४० प्रतिशतले बृद्धि गरेर चार अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
समीक्षा अवधिमा एलआइसी नेपालको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७७ पैसाबाट बढेर ११ रुपैयाँ ८८ पैसा पुगेको छ ।