एडीबीद्वारा नेपाललाई ३९ अर्ब वित्तीय सहयोग स्वीकृत, हरित अर्थतन्त्र र खानेपानी सुधारमा महत्वपूर्ण लगानी
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई हरित अर्थतन्त्र प्रवर्द्धन तथा खानेपानी सुरक्षा सुनिश्चितताका लागि करिब ३९ अर्ब रुपैयाँको वित्तीय सहयोग प्रदान गर्ने निर्णय गरेको छ। जलवायु परिवर्तन र भौगोलिक जोखिमको प्रभावलाई न्यूनिकरण गर्ने दुई मुख्य परियोजनाका लागि एडीबीले २८८ मिलियन अमेरिकी डलर, अर्थात् ३८ अर्ब ८८ करोड रुपैयाँ बराबरको ऋण र अनुदान उपलब्ध गराउने जानकारी दिएको छ।
एडीबीले “हरित, लचिलो र समावेशी विकास उपकार्यक्रम” र “काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (चरण २)” का लागि उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। यस परियोजनामार्फत गरिएको दिगो तथा वातावरणमैत्री लगानीले नेपालको आर्थिक वृद्धि र जीवनस्तरमा सुधार ल्याउने अपेक्षा एडीबीले व्यक्त गरेको छ।
एडीबीले हरित, लचिलो र समावेशी विकास उपकार्यक्रमका लागि १०० मिलियन डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ) सहुलियत ऋणको व्यवस्था गरेको छ। यो सहयोगले प्रकृति संरक्षण, जलवायु अनुकूलन, विपद् जोखिम व्यवस्थापन, र लैंगिक तथा सामाजिक समावेशीकरणमा नेपाललाई थप सशक्त बनाउने विश्वास एडीबीको छ।
काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना का लागि एडीबीले १७० मिलियन डलर ९२२ अर्ब ९५ करोड रुपैयाँ० ऋण र १५ मिलियन डलर ९२ अर्ब २ करोड ५० लाख रुपैयाँ० अनुदान प्रदान गर्नेछ। यस सहयोगबाट काठमाडौं उपत्यकामा वर्षभरी पिउने पानीको अभाव पूर्ति गर्न पूर्वाधार निर्माणमा लगानी गरिनेछ। यस अन्तर्गत मेलम्ची नदीको पानी डाइभर्सन इन्टेक प्रणालीको निर्माण तथा स्थानान्तरण, सुन्दरीजल प्रशोधन केन्द्रको क्षमता विस्तार, र पानी वितरण प्रणाली सुधार जस्ता कार्यहरू गरिनेछ। एडीबीको अनुमान अनुसार यस योजनाबाट सन् २०३० सम्म करिब २० लाख जनता लाभान्वित हुनेछन्।
एडीबीले जापान सरकारको फण्डबाट थप ३ मिलियन डलर (४० करोड ५० लाख रुपैयाँ) अनुदान र १।७५ मिलियन डलर प्राविधिक सहयोग अनुदानको व्यवस्था गरेको जानकारी दिएको छ।
यस सहयोगबाट नेपालले हरित अर्थतन्त्रको विकास र खानेपानी आपूर्ति सुदृढ गर्न ठोस कदम चालेको मानिन्छ, जसले नेपालको दिगो विकास लक्ष्य प्राप्त गर्न र वातावरणीय संरक्षणमा टेवा पुर्याउनेछ।