प्राधिकरणले भोलि बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बङ्गलादेशलाई पहिलो पटक ४० मेगावाट बिजुली बिक्री गर्दैछ। यसका लागि नेपालले भारत हुँदै बिजुली पठाउने तयारी गरेको छ। नोभेम्बर १५ तारिखमा भारतको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट बङ्गलादेशसम्म बिजुली पुर्याइने प्राधिकरणले जनाएको छ। यो बिक्री, असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबीच सम्पन्न सम्झौताअनुसार हुने भएको हो।
बिजुली निर्यातका लागि २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे परियोजनाका विद्युत उत्पादनहरू बङ्गलादेश पठाइने तय गरिएको छ। बङ्गलादेशमा बिजुली पठाउन भारतबाट स्वीकृति लिनुपर्ने व्यवस्थाअनुसार, भारतले अनुमति दिएसँगै प्राधिकरणले निर्यातको प्रक्रिया अघि बढाएको हो।
यस सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार नोभेम्बर १५ पछि आगामी जुनको १५ सम्म मात्रै नेपालबाट बङ्गलादेशमा बिजुली पठाउन सकिनेछ।
नेपालले यस निर्यातबाट प्रतियुनिट ६।४० अमेरिकी सेन्ट आम्दानी गर्नेछ। ढल्केबरदेखि भारतको मुजफ्फरपुरसम्म बिजुली पुर्याउन लाग्ने ह्विलिङ चार्ज नेपाल विद्युत् प्राधिकरणले बेहोर्नेछ भने मुजफ्फरपुरबाट बङ्गलादेशसम्म पुर्याउने खर्च बङ्गलादेशले व्यहोर्नेछ। मुजफ्फरपुरमा मिटरिङ व्यवस्था हुनेछ, जसले निर्यात भएको विद्युत् मापन गर्नेछ।
नेपाल र बङ्गलादेशबीचको यो बिजुली व्यापारले दक्षिण एशियाली क्षेत्रीय ऊर्जा साझेदारीलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ।