बजारमा दोहोरो अकंको सुधारः कारोबार रकम देखियो रौनक, किन बजारमा उथलपुथल ?
काठमाडौँ । दुई दिन ओरालो लागेको बजार आज भने दोहोरो अकंले बढेको छ । बजारले अपेक्षा अनुसार सुधार लिन सकेको छैन । बजारमा अहिले लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा रहेको आंकलन हुन थालेका छन् । सबै सूचक सकारात्मक रहेको बेला बजारले उच्च सुधार गर्ने अपेक्षा लगानीकर्तामा रहेको छ ।
बैंकिङ प्रणालीमा कायम रहेको उच्च तरलता र घट्दो ब्याजदरले अहिलेको शेयर बजारमा सकारात्मक प्रभाव पार्दैछ । आर्थिक गतिविधि बढाउन र लगानी प्रवाहलाई सहज बनाउन बैंकहरूले ब्याजदर घटाएका छन्, जसका कारण शेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्दो छ। यसका अतिरिक्त, नेप्सेले लामो समयसम्म भोगेको बियरिस चक्र समाप्त भइसकेको र सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था सुधारको चरणमा रहेकोले पनि बजारलाई थप सहारा मिलेको छ।
यस्तै, सरकारको हालको नीति र दृष्टिकोण पनि सेयर बजारप्रति मैत्रीपूर्ण देखिन्छ । केन्द्रीय बैंकले हालसालै जारी गरेका नीति–निर्देशनहरू पनि क्रमिक रूपमा बजारलाई सहयोग पु¥याउने खालका छन् । बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा सरकारले नीतिनियमहरूलाई खुकुलो पार्दै आएको छ, जसको सकारात्मक प्रभाव विस्तारै सेयर बजारमा देखिन थालेको छ।
शेयर बजारमा भएको यस सुधारसँगै सर्वसाधारण लगानीकर्ताको बजारप्रतिको धारणा पनि फेरिँदै छ। यसअघि, नेप्से परिसूचकले ३,००० अंकको स्तर पार गरिसकेको थियो, तर पछि सो तहबाट करेक्सन भएको थियो । हालको सुधारसँगै लगानीकर्ताहरू बजारमा नयाँ सम्भावनाहरू देख्न थालेका छन् र सूचकले विगतका उच्च अंकहरू पुनः पार गर्नसक्नेमा उनीहरू आशावादी बनेका छन् ।
लगानीकर्ताहरूले पछिल्लो समयको बजार सुधारलाई स्थायी हुने विश्वास गरिरहेका छन् । बजारमा ब्याजदर घट्दै जाँदा, वित्तीय संस्थाहरूको स्थायित्वमा सुधारका संकेत देखिन थालेका छन्, जसले भविष्यमा सेयर बजारलाई थप बलियो बनाउन सक्ने विश्वास छ । यस किसिमका प्रगति र सकारात्मक नीतिका कारण सेयर बजारले आगामी दिनमा थप उचाइ लिने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले बढेर २७४८.७८ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको २ करोड १४ लाख २४ हजार १००कित्ता शेयर किनबेच हुँदा १० अर्ब १८ करोड ३४ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन सात उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बिहिबार ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, १५९ कम्पनीको मूल्य बढ्दा ७९ कम्पनीको घटेको छ ।