समाजिक सञ्जालमा विरोध गरेको भन्दै मेयर बलायरद्वारा वडा अध्यक्षमाथि अपमानजनक गालिगलौज

२९ कार्तिक २०८१, बिहीबार १४:२६

काठमाडौँ । सामाजिक सञ्जालमा आफ्नो विरोध गरेकै भन्दै शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायरले वडा नम्बर ७ का अध्यक्ष टेक भट्टमाथि अपशब्द प्रयोग गर्दै धम्की दिएको अडियो सार्वजनिक भएको छ । भट्टले मेयर बलायरको कार्यशैलीमाथि फेसबुकमा टिप्पणी गरेको बताउँदै मेयर बलायरले फोन सम्पर्कमा उनलाई धम्की दिँदै गालिगलौज गरेका हुन् ।

फोन संवादमा मेयर बलायरले भट्टमाथि अपशब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा गरेका स्टाटस सबै आफुले याद राखेको बताए । उनले भने, “मसँग धेरै ल्याङल्याङ नगर्नुहोस् । तपाईले फेसबुकमा लेखेका स्टाटस मैले राखेको छु । समय आएपछि कुरा बताउँला” धम्कीपूर्ण शैलीमा उनले वडा अध्यक्षसँग व्यक्तिगत हिसाब–किताब गर्ने चेतावनीसमेत दिएका छन् ।

मेयर बलायरले परिवारलाई समेत जोडेर भट्टमाथि खरो गालिगलौज गरेका हुन् ।

घटनाको पृष्ठभूमि

कात्तिक २९ र ३० गते वडा नम्बर ७ (भट्टको नेतृत्व रहेको वडा) मा वन्थडी जात्रा आयोजना हुने कार्यक्रम रहेको थियो । यस अवसरमा प्रमुख अतिथि बनाउन वडा अध्यक्ष भट्टले मेयर बलायरलाई निमन्त्रणा गरेका थिए । वडा अध्यक्षले मेलामा आउन आग्रह गरेपनि मेयरले कार्यक्रममा आउने सहमति जनाएका थिए ।

तर, भट्टले उक्त कार्यक्रममा प्रदेश सांसद चक्र मल्ल पनि सहभागी हुने जानकारी गराएपछि बलायरले आफु नआउने बताए । उनले भने, ‘माननीय आउने भएपछि म जाबो मेयर किन आउनु परो?’ सो पश्चात मेयर बलायरले वडा अध्यक्षसँग समाजिक सञ्जालमा विरोध गरेको कुरा निकाल्दै अपशब्द प्रयोग गरेका हुन् । सो अडियोमा बलायरले निरन्तर वडा अध्यक्ष माथि गालिगलौज गरेको सुन्न सकिन्छ ।

के भन्छन् वडा अध्यक्ष भट्ट ?

वडा अध्यक्ष टेक भट्टले आफुले नगरपालिकाका केही गलत क्रियाकलापहरूको विरोध गर्दै आएका कारण मेयर बलायरले व्यक्तिगत रिसइबी साँध्न खोजेको बताए । उनले भने, ‘जनप्रतिनिधि भएको नाताले नगरपालिकाको कामकाज व्यवस्थित र जनहितमा हुनु पर्छ भन्ने मेरो अडान छ । निरन्तर कार्यपालिका बैठकमा मैले आवाज समेत उठाइ रहेको थिए ।  त्यसै कारण मेयरले मलाई धम्की दिएका हुन्।” भट्टका अनुसार, मेला कार्यक्रममा जनताको माग अनुसार मेयरलाई निमन्त्रणा गरे पनि प्रदेश सांसद मल्लको उपस्थितिलाई लिएर मेयरले अपमानजनक शब्द प्रयोग गरेका हुन् ।

मेयर बलायर कांग्रेसबाट निर्वाचित भए पनि उनको कार्यशैलीमाथि शिखर नगरपालिकाका जनप्रतिनिधि तथा जनताबाट निरन्तर आलोचना हुँदै आएको छ । एमालेबाट निर्वाचित भट्टले नगरपालिकाको पारदर्शिता र जनहितको पक्षमा बोल्न खोज्दा बलायरले असन्तुष्टि व्यक्त गरेको बताइन्छ । बलायरकै पार्टीका केही जनप्रतिनिधिहरूले समेत बलायरको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका छन् ।

शिखर नगरपालिकाभित्र बलायरको नेतृत्वमा बढ्दो असन्तोष र आलोचनाले उनको छविमा गम्भीर असर पारेको छ । जनप्रतिनिधिहरूबीचको सहकार्य र सम्मानको कमीले नगरपालिकाको विकास र जनताको सेवामा बाधा पुर्याउने देखिन्छ । शिखर नगरपालिकामा प्रमुख र वडा अध्यक्षबीचको यो विवादले जनप्रतिनिधिहरूबीच आपसी असमझदारीको समस्या उजागर गरेको छ । नगरपालिकाको प्रमुख भएर पनि बलायरले सार्वजनिक रूपमा धम्कीपूर्ण भाषा प्रयोग गर्नुले सिंगो नगरपालिकाको प्रतिष्ठामा नकारात्मक असर परेको छ । जनताका प्रतिनिधिहरूले आपसी सहकार्य र समझदारीमा काम नगरेमा यस्ता विवादहरूले जनविश्वास गुम्न सक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*