धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अघि बढ्यो, मंसिर ९ मा तीन उम्मेदवारलाई अन्तर्वार्ता

२९ कार्तिक २०८१, बिहीबार १०:३४

काठमाडौँ । नेपाल सरकार अन्तर्गत अर्थ मन्त्रालयले लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष चयन प्रक्रिया पुनः अघि बढाएको छ । यसअघि सर्टलिस्टमा परेर पनि अन्तर्वार्तामा नगएका तीन प्रमुख आवेदकलाई अन्तरवार्ताका लागि मंसिर ९ गते बोलाइएको हो ।

बोर्डको अध्यक्ष पदका लागि प्रारम्भिक छनोटमा परेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ र सेबोनका कार्यकारी निर्देशक नवराज अधिकारीलाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण सहित अन्तरवार्तामा बोलाइएको छ ।

गत असोज १८ गतेका दिन उनीहरूलाई अन्तरवार्तामा सहभागी गराउने तयारी भए पनि अन्तिम समयमा सो प्रक्रिया स्थगित गरिएको थियो । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तीन आवेदकलाई पुनः बोलाएको हो । अर्थ मन्त्रालयले यसअघि कानूनी र प्रशासनिक अड्चनका कारण अन्तर्वार्ता प्रक्रिया रोकिएको जानकारी दिएको थियो ।

नेपालको धितोपत्र बजारको नियामक निकायको अध्यक्ष चयनका लागि प्रारम्भिक छनोट चरणमा पाँच जना आवेदक अघि बढेका थिए । यी पाँचमध्ये अन्य दुई आवेदक सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता दिइसकेका छन्। दरखास्त आह्वान गर्दा जम्मा १९ जनाले आवेदन दिएका थिए, जसबाट कार्ययोजना मूल्यांकन र अन्तर्वार्ताका लागि पाँच जना छनोट भएका थिए ।

अध्यक्ष नियुक्तिमा कानूनी अड्चनसमेत देखा परेको थियो । सन्तोषनारायण श्रेष्ठले नयाँ प्रक्रिया सुरु नगर्न कानूनी चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए, जसका कारण अदालतले नयाँ प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेशपछि पुरानै प्रक्रिया बहाल राख्दै बाँकी तीन आवेदकलाई अन्तरवार्तामा बोलाउने निर्णय भएको हो । यो निर्णयले पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खोलिदिएको छ।

शेयर लगानीकर्ता र व्यवसायिक पक्षको विश्वास पुनःस्थापित गर्न धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रियालाई विशेष चासो र प्राथमिकता दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*