मेट लाइफको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक?
काठमाडौं । मेट अमेरिकन लाइफ इन्स्योरेन्स चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अुनसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ।
गत आवमा यस कम्पनीले ९ करोड २५ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा ९ करोड ६५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। कम्पनीको आम्दानी बढेसँगै नाफा बढ्न टेवा पुगेको हो।
गत आवको असोज मसान्तसम्ममा २ अर्ब १ करोड ७८ लाख रुपैयाँ कुल आम्दानी गरेको यस कम्पनीको चालू आवको यसै अवधिमा बढेर २ अर्ब ९ करोड ३५ लाख रुपैयाँ पुगेको छ।
गत आवको पहिलो त्रैमाससम्म १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीले चालू आवको सोही अवधिमा १ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आर्जन ४ दशमलव ५९ प्रतिशत वृद्धि भएको हो।
गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ९५ करोड रुपैयाँ थियो। चालू आवको यसै समयमा उक्त रकम ११ दशमलव ३१ प्रतिशतले वृद्धि भएर २६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा २ अर्ब ४० करोड ५० लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा ५० करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ।