त्रिभुवन विमानस्थलमा हवाई ट्राफिक व्यवस्थापनमा एयर ट्राफिक असफल, आधा दर्जन जहाज आकाशमा होल्ड
काठमाडौं । यही कार्तिक २३ गतेदेखि मर्मतका लागि आंशिक रुपमा उडान बन्द गरिएसँगै हवाई चाप बढेको त्रिभुवन विमानस्थलमा सही रुपमा जहाज उडान र अवतरण गराउन दक्ष एयर ट्राफिकको समस्या देखिएको छ ।
जसको कारण हरेक जहाज कम्तीमा आधा घण्टा आकाशमा होल्ड भएर मात्रै अवतरण गर्ने अनुमति पाउने गरेका छन् । त्रिभुवन विमानस्थल प्रशासनमार्फत खटिएका एयर ट्राफिकहरुले चुस्त दुरुस्त रुपमा जहाजलाई अवतरण गराउन असफल देखिएका छन् ।
बुधबार सिद्धार्थनगरबाट आएको कतार एयरको जहाज झण्डै एक घण्टा आकाशमा होल्ड भयो भने कोरियाको सियोलबाट आएको जहाज पनि एक घण्टा हाराहारी नै होल्ड भयो । त्यस्तै फ्लाई दुबईको जहाज पनि एक घण्टा भन्दा बढि होल्ड होल्ड भयो ।
अन्तर्राष्ट्रिय उडानका जहाज मात्रै नभई आन्तरिक उडानमा रहेका बुद्ध, यति एयरलाइन्स, श्री एयरलाइन्सका जहाजहरु लामो समय आकाशमा होल्ड हुँदा यात्रुहरु निकै अत्तालिएको गुनासो गरेका छन् । त्रिभुवन विमानस्थलमा दैनिक १० घण्टा उडान र अवतरण बन्द गर्ने निर्णय गरिएको छ । मर्मतको नाममा बन्द गरिएपनि विमानस्थल सञ्चालनमा चुस्तदुरुस्त अपनाउन नसक्दा यात्रुहरुले सास्ती र हैरानी पाउँदै आएका छन् ।
त्रिभुवन विमानस्थलमा दक्षतायुक्त जनशक्ति नहुँदा जहाजहरुको सही नियमन गर्न समस्या त छदैछ, घण्टौंसम्म जहाजहरु आकाशमा होल्ड हुँदा हवाई जहाज कम्पतीको दैनिक करोडौं रुपैयाँ घाटा व्यहोर्नु परेको छ ।