१५ दिन भित्र वक्यौता नतिरे लाइन काट्ने कुलमानको चेतावनी, ‘प्राधिकरण भित्र राजनीति गर्न खोजियो’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरु दिन बाँकी रहेको वक्यौता रकम उठाएरै छोेड्ने प्रतिबद्दता जनाएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै घिसिङले २८ उद्योगले १५ दिन भित्र वक्यौता रकम नदिए पुनः लाइन काट्ने उद्धघोष गरेका हुन् ।
कानुन बमोजिम वक्यौता रकम उठाउन आफु बिचलित नहुने उनले बताए । उनले भने, ‘कानुन बमोजिम वक्यौता रकम उठाएरै छोड्छु । म बिचलित हुने छैन । सबैको सहयोग आवश्यक छ ।’
‘२८ उद्योगहरुले १५ दिन भित्र वक्यौता नदिएको खण्डमा फेरी आफ्नै प्रक्रियामा अघि बढ्नेछ । किस्ताबन्दी अन्तर्गत पहिलो किस्ता बुझाउनेलाई लाइन जोडि सकेका छौं’ उनले भने, ‘हामीले गरेको बिल बुझाएन भने हामी आफ्नो प्रक्रियामा लाग्छौं । नेपाल सरकारले पनि भनि सकेको छ १५ दिन भित्रै बक्यौता रकम दिनु भनेर । नेपाल सरकार र उर्जा मन्त्रालयको पनि जिम्मेवारी हुने भएकाले वक्यौता उठ्ने विश्वास लिएका छौं । यसअघि ३ महिनाको समय दिएका थियौं । अहिले फेरी १५ दिनको समय नेपाल सरकारले दिने भनेको छ ।’
वक्यौता रकम उठ्नु पर्ने विषय नियामकको मात्र सरोकारको विषय मात्रै नभइ आम सर्वसाधारणको विषय रहेको घिसिङले बताए । उनले भने, ‘वक्यौता रकम उठाउने विषय नियामकमा मात्रै सिमित भएन । यो आम जनसागरको विषय हो ।’
लाइन काट्ने फेरी जोड्ने र वक्यौता नउठाउने तिर लाग्नु भन्दा समाधानको बिन्दु तिर लाग्नु पर्ने उनले बताए । ‘समाधानको अन्तिम बिन्दुमा आइसकेको थियो तर नेपाल सरकारको निर्देशनले १५ दिन समय थप भएको छ । उद्योगको वातावरणलाई बढवा दिनु पर्नेमा लाइन काट्न लागेको विषयको गुनासो झुटो हो । औधोगिक वातावरण सिर्जना गर्ने गरी विद्युत प्राधिकरण पहिलेदेखि लागि परेको छ’ घिसिङले भने ।
अहिले उद्योगीहरुले वक्यौताको नाममा राजनीतिकरण गरेको कुलमानको आरोप रहेको छ । ‘राजनीतिकरण गर्ने तिर उद्योगी ब्यवसायी लागेका छन् । वक्यौता दिनुभन्दा उद्योगिहरु राजनीति गर्नेतिर लागे पछि समस्या उत्पन्न भएको छ ।’ उनले भने, ‘उद्योगीहरु सरकारलाई समेत इमोसन ब्लयामेल गर्ने तिर लागे । तिर्नु पर्ने रकम जसरी भएपनि तिर्नु पर्दछ ।’
लोडसेटिङको बेला समेत लाइन प्राप्त गरेर नाफा गर्ने अहिले नदिने भन्ने विषय नियमसंगत नभएको कुलमानको तर्क छ । उनले अन्य उद्योगहरुले धमाधम वक्यौता दिएर काम गरी रहेका बेला केहि उद्योगले समस्या ल्याउन सहि नभएको उनको भनाइ छ ।
उद्योगिले वक्यौता नदिएर वित्तीय अवस्थालाई ठुलो धक्का दिने देखिएको उनले बताए । ‘ठुला उद्योगी घरनाको लाइन जोड्दै जाने तर कसैले एक हजार नदिदैमा लाइन काट्ने भन्ने आवाज उठि रहेका छन् । सोहि कारण रकम संकलन समेत घट्दो क्रममा रहेको छ । लाइन काट्न जाँदा कर्मचारी माथि कुटपिट हुने गरेको छ । प्राधिकरणका वित्तीय अवस्था निकै नाजुक अवस्थामा पुग्ने अवस्था छ ।’
‘हाम्रो बिल सहि छ । सहि छैन भनेर उद्योगि साथीहरु अदालत जानु भएको थियो । सबै नियामक जाँदा मुद्धा खारेज भएको छ । करिब ९० मुद्धा खारेज भएको छ । सबै नियामकले हाम्रो बिल सहि भनेको छ ।’ उनले भने, ‘उद्योगीहरुले अर्थतन्त्रमा गरेको योगदानको सम्मान गर्दछु । मैले राजस्व उठाउने र देश जनताको हित बाहेक कुनै ब्यक्तिगत स्वार्थ छैन ।’
कुलमानले के मैले राजस्व उठाउनु राजनीति गरेको हुन्छ भन्दै प्रश्न समेत गरे । ‘संस्थाको राजस्व उठाउनु रोज्दा नाजायज विषय हो ? मैले संस्थाको नियममा रहेर काम गरेको छु’ उनले भने ।