मर्ज हुँदै दुईवटा ब्रोकर संघ, आजै सम्झौतामा हस्ताक्षर हुने
काठमाडौँ । नेपालका दुई प्रमुख धितोपत्र ब्रोकर कम्पनी एसोसिएसन मर्जमा जाने तयारीमा छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच आज साँझ मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको हो।
स्टक ब्रोकर एसोसिएसन अफ नेपाल पुराना ब्रोकरहरुको संगठन हो, जबकि धितोपत्र ब्रोकर एसोसिएसन नेपाल नयाँ ब्रोकरहरूको छुट्टै संगठनको रूपमा स्थापना भएको थियो। नेपाल धितोपत्र बोर्डमा रमेश हमालको अध्यक्षतामा नयाँ ब्रोकरहरुलाई लाईसेन्स दिने निर्णयपछि दुई समूहको बीचमा एकतासम्मको प्रक्रिया अघि बढेको हो।
मर्जरपछि नयाँ एसोसिएसनको नाम स्टक ब्रोकर एसोसिएसन अफ नेपाल रहने प्राम्भविक सहमति बनाएको छ। मर्जपछि साधारणसभा आयोजित गरेर नयाँ अध्यक्ष र अन्य पदाधिकारी चयन गरिनेछ।
यस मर्जरको उद्देश्य धितोपत्र बजारको प्रगति र ब्रोकरहरूको बीचमा सहकार्यलाई थप मजबुत बनाउनु हो। यससँगै, बजारमा भएका विभिन्न चुनौती र अवसरहरूलाई साझा गरेर नयाँ कदम चाल्ने तयारी गरिएको छ।
हाल स्टक ब्रोकर्स एसोसीएशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा छन् भने धितोपत्र ब्रोकर्स एसोसीएशन नेपालका अध्यक्ष सागर ढकाल छन् । मर्जरपछि एकीकृत एसोसिएसनले ब्रोकरहरूको भलाइ र बजारको प्रगति सुनिश्चित गर्न नयाँ रणनीति र योजनासमेत ल्याउने विश्वास लिइएको छ ।