लाभांश र मर्जर प्रस्ताव सहित प्राइम बैंकले बोलायो साधारणसभा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सत्रौं वार्षिक साधारणसभा मंसिर १९ गते बुधबार काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि गर्ने भएको छ। बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले यो निणर्य गरेको हो।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत कर सहित नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक गृहकार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालकको भत्ता तथा सुविधा थप गर्ने लगायतका विशेष प्रस्ताव पनि समावेश छन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ९ गते एक दिन बुक क्लोज गर्नेछ। यसका आधारमा मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न सक्नेछन्।