साना तथा मझौला कम्पनीहरूको सेयर निष्कासन र कारोबार प्रक्रिया सम्बन्धी नियमावलीमा कस्तो फरकपन अपनाईदैछ ?

२९ कार्तिक २०८१, बिहीबार १४:०६

काठमाडौं । साना तथा मझौला कम्पनीहरूको सेयर निस्कासन र कारोबार प्रक्रिया सम्बन्धी नियमावली मन्त्रिपरिषदमा पेश भईसकेको छ। जसमा हाल ऐनमा भएको भन्दा शेयर निस्कासन र सेयर कारोबार प्रक्रियाभन्दा फरक प्रक्रिया अपनाइने भएको छ।

प्रस्तावित नियमावली अनुसार २५ करोड रूपैयाँभन्दा कम चुक्ता पुँजीका कम्पनीहरूले यस नियमावली अनुसार सर्वसाधारणमा सेयर जारी गर्न सक्ने व्यवस्था राखिएको छ।

यस्तो सार्वजनिक सेयर निस्कासनपछि कम्पनीको चुक्ता पुँजी बढीमा २५ करोड रूपैयाँ मात्रै हुनुपर्ने व्यवस्था छ। कम्पनीको संस्थापकहरूको सेयर स्वामित्व ७० प्रतिशतभन्दा बढी वा ५१ प्रतिशतभन्दा कम नहुने गरेर बाँकी सेयर सर्वसाधारणमा निस्कासन गर्न सकिने व्यवस्था छ।

त्यस्तै सेयर जारी गर्ने कम्पनी पब्लिक कम्पनीका रूपमा सञ्चालनमा आएको कम्तीमा एक वर्ष पूरा भएको, एक वर्षको वित्तीय विवरण लेखा परीक्षण भएको र साधारण सभा सम्पन्न भएको भए हुने व्यवस्था छ।
यस्ता कम्पनीलाई क्रेडिट रेटिङ अनिवार्य गरिएको छैन। तर धितोपत्र बोर्डले आवश्यक देखेमा क्रेडिट रेटिङ गर्न लगाउन सकिने भएको छ।

यस्ता कम्पनीले सेयर जारी गर्दा ५० प्रतिशतभन्दा कम सेयर मात्रै बिक्री भएमा यो प्रक्रिया नै रद्द हुने व्यवस्था पनि गर्न लागिएको छ। कम्पनीहरूले सेयर बिक्रीका लागि दुई दिन पाउँछन्। सेयर नबिके थप १३ दिनका लागि बिक्री खुला गर्न सक्छन्।

यस्ता कम्पनीको सेयरमा न्यूनतम एक सय ५० कित्ताका लागि आवेदन दिन पाइनेछ। बाँडफाँट र सूचीकरणपछि कारोबार हुँदा समेत एक सय ५० कित्ताभन्दा कम सेयर बाँडफाँट र किनबेच नहुने भएको छ। सबैलाई एक सय ५० कित्ताको दरमा सेयर बाँडफाँट गर्न नपुग्ने भएमा गोलाप्रथाबाट पर्ने लगानीकर्ताले मात्रै सेयर पाउनेछन्।

सामान्यतया यस्ता कम्पनीको प्रतिकित्ता सेयर मूल्य एक सय रूपैयाँ नै हुनुपर्ने व्यवस्था गरिएको छ। प्रस्तावित नियमावलीको व्यवस्था अनुसार कम्पनीहरूले प्रिमियम मूल्यमा (एक सय रूपैयाँ अंकित मूल्यभन्दा बढीमा) सेयर जारी गर्ने भएमा कम्तीमा कम्पनीको तीन वर्षको लेखा परीक्षण भएको, प्रतिकित्ता सेयरको मूल्यभन्दा कम्पनीको प्रतिसेयर नेटवर्थ बढी भएको र रेटिङ कम्पनीबाट औसत वा सोभन्दा बढी संकेत गर्ने रेटिङ पाएको हुनुपर्नेछ।

यस्ता कम्पनीको सूचीकरण खारेज गर्न सकिने व्यवस्था पनि छ। यसका लागि यस्तो प्रस्ताव साधारण सभामा लैजानुपर्ने र सो सभामा कम्तीमा ९० प्रतिशत सेयर स्वामित्व भएका कम्तीमा ७५ प्रतिशत सेयरधनीको उपस्थितिमा हुनुपर्ने व्यवस्था छ।यस्ता कम्पनीको सेयर कारोबारका लागि स्वचालित विद्युतीय कारोबार प्रणाली स्थापना गर्नुपर्नेछ।

अहिले पनि सेयर बजारमा २५ करोड रूपैयाँभन्दा कम पुँजी भएका कम्पनीहरूको सेयर कारोबार भइरहेको छ। तर यस नियमावली अनुसार सेयर जारी गर्ने कम्पनीहरूको कारोबारका लागि अलग्गै प्रणाली स्थापना गर्नुपर्ने भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*