सानिमा जीआईसीले निर्जीवन बीमा अभिकर्ताको तालिम र परीक्षा सञ्चालन गर्ने
काठमाडौं। सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिहरूका लागि तालिम र परीक्षा सञ्चालन गर्ने भएको छ।
कम्पनीले आउँदो मंसिर ९ देखि ११ गतेसम्म आधारभूत तालिम सञ्चालन हुने जानकारी दिएको छ। उक्त तालिम सानिमा जीआईसीको केन्द्रीय कार्यालय वा गूगल मिटमार्फत बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुनेछ। तालिमपछि मंसिर १२ गते बीमा अभिकर्ता बन्ने योग्यताका लागि परीक्षा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । परीक्षा बिहान ११ बजेबाट सुरु हुनेछ।
सहभागी हुनेका लागि शैक्षिक योग्यता प्लस टु उत्तीर्ण अनिवार्य गरिएको छ। यो तालिममा भाग लिन इच्छुक व्यक्तिहरूले मंसिर ७ गतेभित्र सानिमा जीआईसीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।