माओवादीको विरोध सरकारमा नहुनुको छटपटी होः प्रधानमन्त्री ओली

२७ कार्तिक २०८१, मंगलवार ०९:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नहुनुको असन्तुष्टि भएको टिप्पणी गरेका छन्। सोमबार साँझ विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले हुँदै नभएका विषयलाई अनावश्यक विवाद बनाउनु नपर्ने धारणा राखे।

अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्रलाई कमजोर बनाएको भनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएको आरोपबारे ओलीले अहिले एसपीपीको कुनै कुरा वा चर्चा नै नभएको बताए।

संविधान संशोधनका लागि आयोग गठन गर्ने विषयमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को भएको र आयोग गठनको कुनै आवश्यकता नरहेको जनाए। नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगहरूमा लाइन पुनः जोडिएको छैन भन्ने प्रश्नमा उनले भने, ‘नजोडिएको भए हेर्दै जाउँ। हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ।’

प्रधानमन्त्री ओली धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी भएपछि विराटनगर हुँदै काठमाडौं फर्केका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*