विन्ध्यवासिनी र मन्दाकिनी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई कम्पनी विन्ध्यवासिनी र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। दुवै कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने हुँदा आज (कात्तिक २७ गते) सम्म शेयर खरिद गर्ने लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउनेछन्।
विन्ध्यवासिनी हाइड्रोपावर
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कर सहित ८ प्रतिशत बोनस शेयर वितरणको घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न मंसिर ६ गते काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यालय परिसरमा बिहान ११ बजे साधारणसभा बस्नेछ।
सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि समावेश गरिएको छ।
मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर ७ गते काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा बिहान ८ बजे साधारणसभा बोलाएको छ।
यस्तै, बोनस शेयर वितरणपछि बढ्ने चुक्ता पुँजीको आधारमा कम्पनीले १ः१.२५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ। यस हकप्रद शेयरबाट उठेको पुँजी माथिल्लो सार्दी खोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण, डल्फिन पावरमा लगानी र बैंक ऋण भुक्तानीमा प्रयोग गरिनेछ।
साथै सभामा गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि समावेश गरिएको छ।