ग्लोबल आइएमई लघुवित्तको नाफा सहित ईपीएस वृद्धि
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा १९.०३ प्रतिशत वृद्धि भएको हो।
गत आवको प्रथम त्रैमासम्म ३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको यस कम्पनीको चालु आवमा बढेर ४ करोड ४ लाख रुपैयाँभन्दा बढी पुगेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ४ करोड ८६ लाख रुपैयाँबाट बढेर ५ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी भने ११.९६ प्रतिशतले घटेको छ। गत वर्ष १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु वर्षमा घटेर १३ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि १८ करोड ३७ लाख रुपैयाँबाट घटेर १५ करोड ९४ लाख रुपैयाँमा झरेको छ।
कुल चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ती कोषमा ५४ करोड ३४ लाख रुपैयाँ सञ्चिती रहेको छ। समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको छ भने प्रतिशेयर आम्दानी ४.१८ रुपैयाँले वृद्धि भएर २६.१६ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १८७.८० रुपैयाँ छ।
कम्पनीले ९ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।