फिन इलेक्ट्रो टेक २०२४: काठमाडौँमा विद्युत-इलेक्ट्रोनिक्स सामाग्रीको बृहत प्रदर्शनी, ५० हजारको अवलोकन अपेक्षा
काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२४’ कात्तिक २९ देखि मंसिर २ गतेसम्म (नोभेम्बर १४–१७, २०२४) काठमाडौँको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना हुने भएको छ । ट्रान्सवेल्ड ट्रान्सफर्मरको मुख्य प्रायोजनमा आयोजना हुने यो कार्यक्रमले यस क्षेत्रका आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायलाई सहजीकरण र प्रवर्धन गर्ने उद्देश्य राखेको छ ।
यस वर्ष ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ भन्ने नारासहित आयोजित यस प्रदर्शनीले उपभोक्ताहरुलाई सुरक्षित र गुणस्तरीय विद्युतीय उत्पादन प्रयोगमा प्रोत्साहित गर्नेछ । प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार र वैकल्पिक उर्जासम्बन्धी उद्यमीहरूलाई एकै ठाउँमा जमघट गराई व्यवसायिक प्रवर्धन तथा सूचना आदान–प्रदान गर्ने प्लेटफर्म प्रदान गर्नेछ । साथै, उर्जाको व्यवस्थित खपतको महत्वबारे जनचेतना जगाउने उद्देश्य पनि यसमा रहेको छ ।
फिन इलेक्ट्रो टेक २०२४ मा हल भित्र र हल बाहीर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।
प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तर्क्रिरया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।
प्रदर्शनीका मुख्य आकर्षणहरू
–स्टल र प्याभिलियनः प्रदर्शनी हल भित्र र बाहिर गरी ९८ वटा स्टलमा ट्रान्समिसन तथा वितरण सामाग्री, ऊर्जा आपूर्ति र नियन्त्रण उपकरण, हाउस वायरिङ्ग सामग्री, अत्याधुनिक स्वीच, एलईडी लाइटिङ, घरेलु विद्युतीय उपकरणहरू, वैकल्पिक ऊर्जा सामाग्रीहरू लगायतका सामग्रीहरू प्रदर्शन गरिनेछ।
–इन्डिया पावर शोः भारतीय वाणिज्य मन्त्रालयको सहयोगमा Indian Chamber of Commerce ले आयोजित “इन्डिया पावर शो“ प्रदर्शनीको मुख्य आकर्षणमध्ये एक हुनेछ । यसमा २८ वटा स्टल राखिएका छन्, जसमा भारतीय उद्योगीहरूका नवीनतम उत्पादनहरू प्रदर्शन गरिनेछ ।
–प्रवेश टिकट डिजिटल बुकिङ सुविधाः ‘फिन इलेक्ट्रो टेक २०२४’ को अवलोकन गर्नका लागि खल्ती एपको सहयोगमा डिजिटल बुकिङ सुविधा समेत उपलब्ध गराइएको छ । खल्तीबाट टिकट काट्ना निशुल्क प्रवेशको ब्यवस्था रहेको छ । सोहि बाहेकका लागि विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई १०० रुपैयाँ शुल्क तोकिएको छ ।
प्रायोजन र सहकार्य
प्रदर्शनीको टाइटल प्रायोजकमा ट्रान्सवेल्ड ट्रान्सफर्मर, प्लेटिनम प्रायोजकमा प्रिमियर वायर्स र डायमण्ड प्रायोजकमा अर्किड इलेक्ट्रिकल्स तथा जानकी केबल रहेका छन् । यसका साथै, गोल्ड प्रायोजकमा सि.एन.एस., लिशा एण्ड टिन्ज, स्विफ्ट गोल्ड र के.इ.आई. जनता रहेका छन् । अफिसिएल बैंक गरिमा विकास बैंक लिमिटेड र अफिसिएल इन्स्योरेन्स सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले प्रदान गरेका छन् ।
यस प्रदर्शनीलाई नेपाल विद्युत प्राधिकरणको सहयोग, नेपाल उद्योग वाणिज्य महासंघ, स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल चेम्बर अफ कमर्शलगायतका विभिन्न संस्थाहरूको सहकार्यमा सम्पन्न गरिनेछ। नेपाल र अन्य मुलुकका विभिन्न उद्योगहरूको सहभागिताले प्रदर्शनीलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।
चार दिनसम्म चल्ने यस प्रदर्शनीमा लगभग ५० हजार भन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । प्रदर्शनी अवधिभर विषयगत गोष्ठी र अन्तर्क्रिरया कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ ।