जनसचेतन सहकारीमा अर्को काण्ड, नयाँ कार्यसमितिमा कानूनविपरीत बहालवाला ६ शिक्षक निर्वाचित

प्रशासनले झिकायो सबै कागजात
२६ कार्तिक २०८१, सोमबार १०:२१

काठमाडौं ।सहकारी संस्थाहरुको एसियाली परिसंघबाट सर्टिफाइड एसीसीईएसएस सिल्भर ब्राण्ड प्राप्त दोलखाको जनसचेतन सहकारी हिनामिनासँगै फेरि अर्को काण्ड मच्चिएको छ । प्रशासन कार्यालय दोलखामा संस्थाका गैरकानूनी गतिविधि तथा बचत हिनामिनाबारे उजुरी दर्ता भएसँगै जनसचेतन भित्रको अर्को गैरकानूनी बबण्डर बाहिर आएको हो ।

दोलखा प्रशासनले जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा तथा निर्वाचन उपसमितिको कामकारबाहीसम्बन्धी विषयका सबै कागजात झिकाएको छ ।
जनसचेतनको सञ्चालक र लेखा समिति चयनको प्रक्रिया नै विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै कोषाध्यक्ष पदका उम्मेदवार हरिबहादुर पाण्डेले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेपछि कागजात झिकाइएको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए ।

निर्वाचन उपसमितिले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा गरी १८ जना निर्वाचित भएको घोषणा गरेकोमा उपाध्यक्ष र सचिव सहित छ जना शिक्षक छन् । शिक्षक भएकै कारण चार जना उम्मेदवारको उम्मेदवारी खारेज गरेको निर्वाचन उपसमितिले एकल उम्मेदवार भएको भन्दै बाँकी छ जना शिक्षकलाई भने निर्वाचित भएको घोषणा गरेको अवस्था छ । जनसचेतनको महिला उपाध्यक्षमा निर्वाचित सुमिता शिवाकोटी उप्रेती, सचिव भरत केसी, सञ्चालक सदस्य अमृत शेर्पा र सिर्जना घिमिरे तथा लेखा समिति सदस्य सुशीला न्यौपाने बहालवाला शिक्षक हुन् ।

उनीहरु विभिन्न विद्यालयमा शिक्षण पेसामा कार्यरत छन् । अर्का सञ्चालक सदस्य उर्मिला गौतम पनि वैतेश्वरकै एक विद्यालयको लेखाकी कर्मचारी रहेको बताइएको छ । निर्वाचन उपसमितिले शिक्षण पेशामा रहे पनि उनीहरूले उम्मेदवारी दिएको पदमा एकल उम्मेदवारी परेका कारण निर्वाचित घोषणा गरेको जानकारी दिएको छ । समितिले दोहोरो उम्मेदवारी परेका अन्य चार जना शिक्षकको उम्मेदवारी भने सहकारी नियमावली र प्रदेश सरकारी ऐनमा ‘शिक्षक उम्मेदवार बन्न नपाउने व्यवस्था भएको’ भन्दै खारेज गरेको थियो ।

अध्यक्ष हेमन्त कुमार चौलागाईं अमेरिका भागेपछि जनसचेतनमा नयाँ कार्यसमिति चयन भएको थियो । हालै भएको साधारण सभाले अध्यक्षमा पूर्व प्राध्यापक गोपालध्वज श्रेष्ठलाई चयन गरेको छ । जो सहकारीबाट ऋण लिएर अर्कैलाई लगानी गरेर डुबाउने कार्यमा संलग्न छन् । त्यस्तै उपाध्यक्षमा निर्वाचित भनिएका भरत केसी एकातिर बहालवाला शिक्षक हुन् भने अर्कोतिर सिपाडोलको प्लटिङमा सहकारीको रकम हिनामिना गर्ने मध्येका एक हुन् । यस्ता व्यक्तिहरुलाई कार्यसमितिमा राखेर जनसचेतनले अर्को घोटाला मच्चाउने वातावरण तयार पारेको छ ।

सम्बन्धित समाचार

जनसचेतन सहकारीको अर्बौ घोटाला काण्डः अध्यक्ष चौलागाईं अमेरिका भागे, बचत दुरुपयोग गर्ने श्रेष्ठलाई कार्यबाहक अध्यक्ष

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*