बजारमा रौनकः परिसूचक २७३८ मा पुग्दा कारोबार ९ अर्ब ७७ करोड, अबको यात्रा बुल हो ?
काठमाडौँ । शेयर बजारमा राताम्य यात्रामा ब्रेक लागेको छ । पछिल्लो केहि दिन यता निरन्तर खुम्चि रहेको बजारमा आज आकर्षक हरियाली देखिएको हो । बजारमा आएको रौनकसँगै लगानीकर्ताको मनोबल समेत उच्च बन्दै गएको छ ।
यसदिन कारोबार रकम समेत उच्च बन्न पुगेको छ । कारोबार भदौ ३० गते यताकै उच्च हो । सो दिन नेपाली बजारमा १० अर्ब ३३ करोडको कारोबार भएको थियो । सो यता कै आजको कारोबार धेरै हो । जसले लगानीकर्ताको मनोबल उच्च बनाएको छ ।
बजारलाई आवश्यक सबै सूचक सकारात्मक रहेको हुँदा अब गति लिने विश्वास आम लगानीकर्ताहरुको रहेको छ । अझ मौद्रिक नीतिको पहिलो समिक्षाले केहि बल दिएको खण्डमा बजारले नयाँ उचाई कायम राख्ने आंकलन गरीएको छ । बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको, नीतिहरु समेत सुधार हुँदै गएको, नियामक सकारात्मक रहेको र अर्थतन्त्र समेत सुधार तिर लम्कि रहेको बेला बजारमा समेत रौनक आउने आश आम लगानीकर्तामा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अकंले बढेर २७३८.०६ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।
बजारमा हरियाली आउँदा १३ वटै उपसूचकमा बढेको छ । यसदिन बैंकिङ समूहको १.६२ प्रतिशत, विकास बैंक समूहको २.७१ प्रतिशत, फाइनान्स समूहको २.४८ प्रतिशत, होटल तथा पर्यटनको ०.९६ प्रतिशतसहित १३ वटै उपसूचक बढेका हुन् ।
आइतबार २२८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ ।