बन्द भएको केपी सिमेन्टले ५८ लाख क्षतिपूर्ति तिर्नुपर्ने, रिद्दिसिद्दि काण्ड के होला ?

२५ कार्तिक २०८१, आईतवार १५:२५

काठमाडौँ । ‘नेपाली चुनढुंगा, नेपाली हात, केपी सिमेन्टले दिन्छ पुस्तौं साथ’ भन्ने नारालाई गिज्याएर गुणस्तरहीन सिमेन्ट बिक्री गर्ने केपी सिमेन्ट इन्डस्ट्रीज प्रालि अदालतको कारबाहीमा परेको छ । काठमाडौँ जिल्ला अदालतले केपी सिमेन्टलाई गुणस्तरहीन सिमेन्ट बिक्री गरेको ठहर गर्दै ५८ लाख ९ हजार ७३४ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।

यो मुद्दा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका भकुण्डेवेशीस्थित नेपाली सेनाको २६ नम्बर बाहिनीमा निर्माण कार्य भइरहेको भवनसँग सम्बन्धित छ ।२०७८/०७९ को आर्थिक वर्षमा ब्राइट–डायना जे.भी. कन्ट्रक्शन कम्पनीले नेपाली सेनाको २६ नम्बर बाहिनीको भवन निर्माणको ठेक्का पाएको थियो । निर्माण कार्यका लागि कम्पनीले केपी सिमेन्टबाट ७५० बोरा सिमेन्ट किन्यो । तर, निर्माणाधीन भवनमा प्रयोग भएका केहि सिमेन्टका बोरामा ग्रेड र लेवल मेटिएको भेटिएपछि सेनाले सिमेन्टको गुणस्तरमा शंका ग-यो।

गुणस्तरको परीक्षण गर्दा सिमेन्टमा गडबडी पाइएको थाहा पाएपछि सेनाले ‘ल्याब टेस्ट’ रिपोर्ट माग्यो । रिपोर्ट झुक्याएर सिमेन्ट ४३ ग्रेडभन्दा उच्च गुणस्तरको भएको दाबी गरिए पनि सेनाले यसलाई अस्वीकार ग-यो र निर्माण कार्य रोक्ने निर्णय ग-यो ।सिमेन्टको ४८५ बोरा फिर्ता गरिने निर्णय पनि सेनाले लियो । निर्माण भएको भवन समेत भत्काइयो

यद्यपि, निर्माण कम्पनीले केपी सिमेन्टसँग पैसा फिर्ता मागे पनि कम्पनीले कुनै प्रतिक्रिया दिएको थिएन । फोन सम्पर्क गर्दा पनि पैसा फिर्ता नगरेपछि निर्माण कम्पनीका प्रतिनिधि उपभोक्ता हित संरक्षण मञ्चमा पुगेर गुनासो गरे। मञ्चले केपी सिमेन्टलाई पत्र पठाए पनि कम्पनीले जवाफ दिएन । यस अवस्थामा, उपभोक्ता हित संरक्षण मञ्चले १ करोड ३४ लाख ९१ हजार ७१ रुपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर ग-यो ।

कम्पनीको गल्ती र लापरवाही स्पष्ट रुपमा देखिन थाल्यो गुणस्तर तथा नापतौल विभागले २०८१ असार २५ गतेको पत्रमा केपी सिमेन्टको नेपाल गुणस्तर प्रमाण चिन्हको अनुमति २०७६ जेष्ठ १७ सम्म मात्र वैध रहेको जानकारी दिएको थियो । यस आधारमा, २०७८ र २०७९ बीचको समयमा बिक्री भएका सिमेन्टमा गुणस्तर प्रमाण चिन्हको अनुमति समाप्त भइसकेको थियो ।

केपी सिमेन्ट इन्डष्ट्रिजले २०७८।२०७९ मा गुणस्तर प्रमाण चिन्हको अनुमति सकिएको भए पनि सिमेन्ट बिक्री गरेको भन्दै काठमाडौँ जिल्ला अदालतले कम्पनीलाई दोषी ठहर गर्दै ५८ लाख ९ हजार ७३४ रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।

केपी सिमेन्ट हाल पूर्ण रुपमा बन्द भएको छ । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दा ग्राहकले रुचाउन छोडेपछि कम्पनी बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

रिद्दिसिद्दि काण्ड के होला ?

केपी सिमेन्टको यो मुद्दा जितेपछि रिद्दिसिद्दि सिमेन्टको बारेमा पनि प्रश्न उठेका छन् । हालै काठमाडौँ र निजगढ फास्ट ट्रयाकमा गुणस्तरहीन सिमेन्ट आपूर्ति गर्ने आरोपमा रिद्दिसिद्दि सिमेन्ट आलोचित भएको छ । कम्पनीले गुणस्तरहिन सिमेन्ट आपूर्ति गर्दै आएको र नियामक निकायले यस विषयमा कुनै कारबाही नगरेकोले नागरिक स्तरबाट प्रश्न उठिरहेका छन् ।

रिद्दिसिद्दि सिमेन्टको गुणस्तरमा समस्या छ भन्ने खबर सार्वजनिक भएपछि अब अदालतमा मुद्दा पर्ने सम्भावना छ । यसले कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सक्छ र यो केपी सिमेन्टको जस्तो परिणाम ल्याउन सक्नेछ ।

यसअघि जगदम्बा सिमेन्टले पनि गुणस्तरहीन पीपीसी सिमेन्ट बिक्री गरेको पाइएपछि कारबाहीमा परेको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको बिक्री वितरण रोक्न र त्यस्ता सिमेन्टलाई बजारबाट फिर्ता लिन आदेश दिएको थियो।

केपी सिमेन्टको ५८ लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने निर्णय मात्र यसको परिणाम होइन । यस घटनाले सिमेन्ट उद्योगमा गुणस्तरको मापदण्डलाई उच्च प्राथमिकता दिने वातावरण निर्माण गरेको छ । रिद्दिसिद्दि सिमेन्ट र अन्य सिमेन्ट कम्पनीहरूका बारेमा पनि जाँच गर्नुपर्ने स्थिति आएको छ । जसले भविष्यमै सिमेन्ट बजारको सुरक्षालाई मजबुत बनाउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*