जनताको रगतसँग साटेर पाथीभरामा केबलकार बनाउन सरकारको जबरजस्ती, आन्दोलनकारीमाथि जघन्य अपराध

२५ कार्तिक २०८१, आईतवार १२:२६

काठमाडौं । पाथीभरा दर्शनलाई सहज बनाउन भन्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बनाउन लागिएको २७ सय मिटर लामो केबलकार विवादमा परेको छ । किराँत मुन्धुमको पहिचान पाथीभरासँग जोडिएको भन्दै पहिचानवादीहरुले फुङ्लिङ-१० काफ्लेपाटीमा शुक्रबार शिलान्यास नै प्रभावित पारेका थिए । शिलान्यासका क्रममा पहिचान पक्षधर र निर्माण पक्षधरबीच झडप समेत भएको थियो । सो झडपका क्रममा राज्यकै संरक्षणमा पाथीभरा केवलकार बनाउने कम्पनीले पालेको गुण्डाहरुको समुहले प्रहरीकै अगाडि आन्दोलनकारीमाथि खुकुरीले छप्काएको घटनास्थलका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

जसमा चन्द्र मादेनमाथि धारिलो हतियार प्रहार भएको थियो भने उनको दाहिने हात भाँचिएको छ । धारिलो हतियारले उनलाई ठाउँ-ठाउँमा काटिएको तस्वीर सर्वत्र फैलिएको छ । पाथीभरालाई मुकुम्लुङका रूपमा आस्था राख्दै आएकाहरूले मुन्धुम पराम्परा मासिने गरी केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएका छन् ।

२०७४ सालमा ताप्लेजुङ्बाट निर्वाचित एमाले नेता योगेश भट्टराई पर्यटनमन्त्री हुँदा सरकारले पाथीभरामा केबलकार निर्माणको अनुमति दिएको थियो ।  एउटा अमुक कम्पनीलाई सरकारले ३ अर्बको लागतमा २७ सय मिटरको केबलकार निर्माण गर्न दिएको हो ।

पाथीभरा क्षेत्रमा अहिंसावादी किराँत धर्म गुरु फाल्गुणान्दको शालिक समेत रहेको र आईएलओको अवधारणा अनुसार मुन्धुमको परम्परा जोगाइनु पर्ने भन्दै पहिचान पक्षधरले सर्वोच्च अदालतमा समेत पाथीभरा क्षेत्रको स्वामित्व आफुहरुले पाउनु पर्ने भन्दै रिट हालेको अवस्था छ । रिट विचाराधीन रहेकै बेला सरकारले सुरक्षाकर्मी परिचालन गरेर बलजफ्ती केबलकार बनाउन खोजेको उनीहरुको भनाइ छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय बासिन्दा नै केबलकार बनाउन नहुने र बनाउन दिइनुपर्छ भन्ने दुई कित्तामा विभाजन भएकाले समस्या आएको बताए । यद्यपि, आफुहरुले विकास निर्माणको काममा भएको अवरोध र विवाद गरिरहेका पक्षधर सबैको शान्ति सुरक्षाको जिम्मा लिनु पर्ने भएकाका कारण तत्काललाई काम रोकेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

हाललाई अवस्था सामान्य भए पनि सम्भावित घटनालाई मध्यजर गरेर आफुहरुले थप सुरक्षा प्रबन्ध मिलाइसकेको उनले बताए । फुङ्लिङका मेयर अमिर मादेनले भने राज्यले निर्माणका लागि स्वीकृति दिइसकेपछि प्रशासनलाई नै स्काभेटरको चावी खोस्न लगाउनु राम्रो नभएको बताए । शुक्रबारको झपड पनि सीडीओको चावी खोज्ने आदेशका कारण भएको उनको भनाइ छ ।

यो विषयमा राज्य जिम्मेवार ठहर्छ, उनले भने, ‘कि त राज्यले पहिल्यै विवेकसंगत ढंगले निर्णय लिई यस्तो ठाउँमा निर्माणको स्वीकृति दिनु हुँदैन थियो । दिइसकेपछि दुई चार जनाले निर्माण गर्न दिन्नौं भनेका भरमा रोक्न मिल्दैन । विकास निर्माणका काम रोकिनु हुँदैन ।’

एक दुई जनाको ज्यानै गए पनि पाथीभरामा केबलकार जरुरी रहेको मेयर मादेनको भनाइ छ । ३०-४० जनाको समूहले धार्मिक पर्यटकीय सम्भावना बोकेको पाथीभरालाई मुठीमा राख्न खोजेको विषयलाई राज्यले समय मै चिनेर केबलकार निर्माण गर्न दिनुपर्नेमा मेयर मादेनको जोड छ । सिमित झुण्डले पाथीभराको भेटी र मुन्धुम पराम्पराको आवरणमा प्रवासी नेपालीहरुलाई ब्ल्याकमेल गरेर कमाउ धन्दा चलाएको आरोप समेत उनले लगाएका छन् ।

उता, पहिचानवादीहरुले किराँतको इतिहास बोकेको ऐतिहासिक तीर्थस्थललाई भ्रष्टाचारीहरुको कमाउ अड्डा बनाउन नदिने बरु रगत बलिदान दिने चेतावनी दिँदै आएका छन् । शुक्रबार पनि राज्यपक्षले रगतको होली खेलेर जनताको रगतसँग केबलकार साट्न लागेको आरोप लगाएका छन् । जनताको सुरक्षा गर्नुपर्ने सरकारकै संरक्षण केवलकार कम्पनीले पालेका गुण्डाहरुले चन्द्रमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण हुँदा पनि प्रहरीले दोषीमाथि कारवाही नगरेको आरोप आन्दोलनकारीहरुले लगाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*