नेपालका चार प्रविधि संस्था ‘असोसियो अवार्ड २०२४’ बाट सम्मानित

२५ कार्तिक २०८१, आईतवार ११:२५

काठमाडौं । जापानको टोकियोमा आयोजित असोसियो डिजिटल शिखर सम्मेलन २०२४ मा नेपालका चार प्रमुख प्रविधि संस्थाहरूले अन्तर्राष्ट्रिय सम्मान पाएका छन्। एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) द्वारा नोभेम्बर ६ देखि ८ सम्म सञ्चालित शिखर सम्मेलनमा नेपाली प्रविधि संस्थाहरूले प्रतिष्ठित असोसियो अवार्ड २०२४ प्राप्त गरेका हुन्।

पुरस्कृत संस्थाहरूमा इरासफ्ट सोलुसन प्रालि, इन्फोडेभलपर्स प्रालि, डाइनामिक टेक्नोसफ्ट प्रालि र नेपाल इन्टरनेट फाउन्डेसन रहेका छन्। इरासफ्ट सोलुसन प्रालिले ‘आउटस्ट्यान्डिङ टेक अर्गनाइजेसन अवार्ड’ पाएको छ भने इन्फोडेभलपर्स प्रालिले ‘डिजिटल गभरमेन्ट अवार्ड’ पाएको छ । यता डाइनामिक टेक्नोसफ्ट प्रालिले ‘एडटेक अवार्ड’ र नेपाल इन्टरनेट फाउन्डेसनले ‘इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड’ प्राप्त गरेको छ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपाली प्रविधि कम्पनीहरूको यस उपलब्धिबाट नेपाललाई विश्व प्रविधि क्षेत्रमा उभ्याउन थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “क्यान महासंघको उद्देश्य नेपालका सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास र प्रवद्र्धन गर्नु हो। असोसियोको सदस्यका रूपमा हामीलाई विश्व मञ्चमा नेपालका उत्कृष्ट प्रविधि उत्पादन र सेवाहरू प्रस्तुत गर्ने अवसर मिल्नु गौरवको विषय हो।”

असोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संघहरूको अन्तर्राष्ट्रिय महासंघ हो, जसमा क्यान महासंघ नेपालका प्रतिनिधि संस्थाका रूपमा सदस्य रहेको छ। यो शिखर सम्मेलनमा नेपालसहित विभिन्न राष्ट्रका २०० भन्दा बढी प्रतिस्पर्धी संस्थाहरू मनोनयनमा परेका थिए। जसमा क्यान महासंघले नेपालका चार उत्कृष्ट संस्थाहरूलाई सिफारिस गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*