लेबनानमा शान्ति सैनिकनै असुरक्षित, नेपालीहरुको उद्धारका लागि भारतको सहयोग चाहिने

२५ कार्तिक २०८१, आईतवार ११:०६

काठमाडौं । मध्यपूर्वमा भइरहेको भीषण लडाइँबीच त्यहाँ रहेका नेपाली शान्ति सैनिक र श्रमिकहरुले असुरक्षा अनुभव गरिरहेका छन् । लेबनानमा राष्ट्रसंघको अन्तिम बल (युनिफिल) मिसनमा तैनाथ नेपाली शान्ति सैनिक (नेपब्याट)टोली रहेको क्याम्प नजिकै समेत बमबारी हुन थालेको छ भने हिजबुल्लाहले आम नागरिक समेतलाई निशाना बनाएर आक्रमण गर्न थालेपछि अन्य क्षेत्रमा कार्यरत नेपालीहरुले असुरक्षा महशुस गरेका हुन् ।

लेबनानमा इजरायल र लेबनानी विद्रोही समूह हिजबुल्लाहबीच दिनहुँ लडाइँ भइरहेको छ । लडाइँको दोहोरो मारमा आम नागरिक र शान्ति सैनिक समेत परेका छन् । हालै, भएका आक्रमणमा केही शान्ति सैनिक घाइते हुँदा त्यसमा अहिलेसम्म नेपाली शान्ति सैनिक नपरेको नेपाली सेनाका जर्नेल गौरव केसीले बीमापोष्टलाई बताए ।

उनले भने, ‘घटना दिनहुँ भइरहेका छन् । स्थिति सहज छैन । नेपाली शान्ति सैनिक खटिएको आसपासमा पनि आक्रमण भएका छन् । यद्यपि, ति आक्रमण शान्ति सेना लक्षित थिएनन् । अहिलेसम्म उनीहरुले शान्ति सेनालाई नै लक्षित गरेर आक्रमण गरेका छैनन् ।’

आम नागरिकलाई सुरक्षित स्थानमा सार्ने क्रममा भएका आक्रमणमा परेर शान्ति सैनिकहरु पर्नुलाई स्वभाविक मान्नु पर्ने उनले बताए । राष्ट्रसंघको मिसन हेडक्वार्टरले त्यस्तो ठाउँबाट शान्ति सैनिक फिर्ता बोलाउने योजना बनाइसकेको भए पनि फिर्ता बोलाइहाल्ने परिस्थिति निर्माण नभइसकेकाले निर्णय नभएको केसीको भनाइ छ ।

उनी अगाडि भन्छन्, ‘स्थिति थप विग्रिने देखिए वा शान्ति मिसन टोली नै निशानामा परेका घटनाक्रम देखिए तत्काल निर्णय हुनेहुन्छ । योजना भने पहिल्यै तयारी अवस्थामा छ ।’
हाल लेबनानमा युनिफिल अन्तर्गत नेपाली बटालियन (नेपब्याट)मा ८७७ जना नेपाली सैनिक छन् । जसमा आकस्मिक फोर्सतर्फ ८५० जना, स्टाफ अफिसरतर्फ २६ जना र १ जना डीएफसी गरेर कुल ८७७ जनाको नेपाली सैन्य फोर्स तैनाथ छ ।

अन्य श्रमिक क्षेत्र (लेबनान)मा भने १५ सय नेपाली रहेको बताइन्छ । प्रत्यक्ष युद्धमा होमिएको इजरायलमा १५ हजार नेपाली रहेको तथा मध्यपूर्वमा कुल गरेर २० लाखको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको बताइएको छ ।

अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले इजरायललाई साथ दिने योजनालाई प्राथमिकतामा राखेका कारण मध्यपूर्वको तनावले विकराल रुप लिने अनुमान गरिएको छ । यस्तो अवस्थामा नेपाल सरकारले आफ्ना नागरिक सुरक्षित गर्ने वा उद्धार गर्ने योजना बनाउन सकेको छैन ।

मध्यपूर्वमा थप अशान्ति मच्चिएको अवस्थामा आफ्ना नागरिकको उद्धारका लागि नेपालले भारतको मुख ताक्नुपर्ने अवस्था छ भने वर्तमान केपी ओली नेतृत्वको सरकारले सम्बन्ध स्थापित गर्न सकेको छैन । भारतलाई थप चिढ्याउन ओलीले उत्तरी छिमेकी चीनको भ्रमण तयारी गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*