क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिबासमा

२५ कार्तिक २०८१, आईतवार ०९:५६

काठमाडौं । नेपालमा गुणस्तरीय निर्माण सामग्री उत्पादन र पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्रसर व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग महासंघले आफ्नो तेस्रो महाधिवेशन आउँदो कात्तिक ३० गते महोत्तरीको बर्दिबासमा आयोजना गर्ने तयारी गरेको छ।

महासंघले १० औं तथा ११ औं वार्षिक साधारण सभा र महाधिवेशनका लागि तयारी पूरा भएको जनाएको छ। उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको महासंघका पदाधिकारीले बताएका छन्।

साधारण सभा तथा महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग बाणिज्य तथा उपभोक्त हित संरक्षण समितिका सभापति अब्दुल खान, मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलगायत प्रदेश सरकार र स्थानीय सरकारका उच्च अधिकारीहरूको उपस्थिति रहने छ।

महासंघका अनुसार महाधिवेशनमा देशभरिबाट ७८० व्यवसायी प्रतिनिधिहरू सहभागी हुनेछन्। तीन वर्षका कार्यकालका लागि नयाँ नेतृत्वको चयन गर्न निर्वाचनको समेत तयारी गरिएको छ।

२०७० सालमा स्थापना भएको महासंघले क्रसर बालुवा र खानी उद्योगका व्यवसायीहरूलाई एकजुट गरी हक हितका लागि आवाज उठाउँदै आएको छ। यसपटकको महाधिवेशनले व्यवसायीहरूका चुनौतीहरूको समाधान र सुधारका लागि सकारात्मक कदम चाल्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*