पाथीभरामा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सकाएर सञ्चालन गर्ने लक्ष्य
काठमाडौं । ताप्लेजुङ जिल्लाको प्रख्यात धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा आउजाउ गर्ने तीर्थयात्रुहरुको लागि सहजिकरण गर्न निर्माण हुन लागेको केवलकार निर्माण गर्न औपचारिक रुपमा शुक्रबार शिलान्यास गरिएको छ ।
संविधानसभा सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमलाई उध्रित गर्दै प्राप्त समाचारमा जनाइएको छ ।
आगामी १५ महिनाभित्रमा निर्माण सम्पन्न हुने गरी काम अघि बढाइएको ठेकेदा कम्पनीले जनाएको छ । ‘अब काम द्रुत गतिमा हुन्छ,’ निर्माण कम्पनीका सञ्चालक केदेमले भने । पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशीढुङ्गा बन्ने बताउँदै केवलकार निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले बताए ।
केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलका अनुसार केवलकार निर्माणको लागि आवश्यक रुख कटान सकिएको र अब धमाधम संरचना बनाउन सुरु गरिनेछ । पौडेलले अबको १५ महिना भित्र केबलकार चड्न पाइने जानकारी दिए ।