दुई दिन खुलेको शेयर बजारमा स्थिरताः ‘पर्ख र हेर’ को मनस्थिति, कस्तो होला अबको लय ?
काठमाडौँ । यस साता शेयर बजार दुई दिन मात्र खुलेको छ र दुबै दिन सामान्य गिरावट आएको छ। मंगलबार नेप्से सूचक ०.३१ अंकले घटेर २६७७ बिन्दुमा पुग्यो भने बुधबार १.८८ अंकले घटेर २६७५ बिन्दुमा स्थिर भयो। लगातार ओरालो लागिरहेको नेप्से सूचकले बजारमा केही संकुचन देखाएको छ, जुन अहिले साइडवेज देखिएको छ।
बजारमा घटेको सूचकसँगै कारोबार रकममा पनि कमी देखिएको छ। मंगलबार कारोबार रकम ४ अर्ब २० करोडको भएकोमा बुधबार यो रकम ५ अर्ब २२ करोडमा सीमित भयो। यो औसत कारोबारले पनि नेप्सेमा ठोस लगानीको अभावको संकेत गरेको छ। हाल बजारमा केही सुस्तता देखिनुको कारण लगानीकर्ताहरूको ‘पर्ख र हेर’ रणनीति रहेको बताइन्छ।
लबजारमा मूल्य घटाएर खासै बेच्न नचाहने अनि बढी तिरेर पनि किनिनहाल्ने मनस्थितिमा लगानीकर्ता रहेको देखिन्छ । यो मनस्थिति कारण नेप्से सूचकमा खासै ठूला उतारचढाव देखिएको छैन। यतिवेला नेप्से लगभग २६ सय बिन्दु वरिपरि स्थिर भइरहेको छ । सूचक २६ सयभन्दा तल झर्न सकेको छैन न त २७ सय माथि जान सकेको छ। बजार यस बिन्दुमा एकप्रकारको संकलनको अवस्थामा छ, जसलाई लगानीकर्ताहरूले दीर्घकालीन दृष्टिकोणले प्रतीक्षा गरिरहेका छन्।
यस साता लगानीकर्ताको मुख्य चासो फाइनान्स, बीमा, र विकास बैंक क्षेत्रमा देखियो। नेपाल फाइनान्सले दुबै दिन सर्वाधिक कारोबार गर्दै बजारमा प्रमुख आकर्षणको रूपमा देखिएको छ। यो ट्रेन्डले बजारले माथि उक्लने संकेत देखाएको भए पनि, लगानीकर्ताहरूमा अझै सन्तोषजनक प्रभाव पारेको छैन।
लगानीकर्ता हाल बजार झिर्न नसक्ने र पूर्ण रूपमा निकास नखोज्ने अवस्थामा देखिएका छन्। हालको बजार स्थिरताले लगानीकर्ताहरूलाई पर्ख र हेरको स्थितिमा राखेको छ। बजारले नयाँ दिशा लिन नसकेका कारण ठूला लगानीकर्ताहरूले पनि उपयुक्त अवसरको खोजी गरिरहेका छन्। साना लगानीकर्ता समेत आशा र अन्योलको अवस्थामा रहेकाले बजारमा तत्काल ठूलो गतिशीलता देखिने सम्भावना न्यून देखिन्छ।
यसबीच, नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन्, जसले सामान्यतः बजारलाई प्रेरित गर्ने गर्थ्यो। तर, यस पटक लाभांश घोषणाले खासै ठूलो उत्साह भने थप्न सकेको छैन। लाभांश सिजन भए पनि बजारमा अपेक्षाकृत प्रगति देखिएको छैन।
बजारमा अझै सकारात्मक माहोल ल्याउने ठानिएको अर्को तत्व भने मौद्रिक नीतिको पहिलो समीक्षाले पुर्याउन सक्छ। सम्भवतः मंसिरको पहिलो वा दोस्रो साता भित्रै मौद्रिक नीतिको समीक्षा आउने अपेक्षा गरिएको छ। यस समीक्षामा शेयर धितो कर्जामा लगाइएको व्यक्तिगत क्याप हटाउने, जोखिम भार घटाउने र लघुवित्त कम्पनीहरूको लाभांशमा लगाइएको क्याप हटाउनेजस्ता निर्णयहरू गरिनुपर्ने माग लगानीकर्ताहरूले गरिरहेका छन्। नियामक निकायले शेयर बजारलाई सकारात्मक दृष्टिकोण राखिरहेको बेला यस्ता नीतिगत सुधारले बजारमा गति ल्याउने विश्वास गरिएको छ।
अहिले बजारमा ठूला लगानीकर्ताहरूले उपयुक्त अवसरको प्रतीक्षा गरिरहेका छन्। खासगरी, थोरै मूल्यमा खरीद र उच्च मूल्यमा बिक्री गर्ने सोचले बजारलाई दीर्घकालीन रूपमा स्थिर राख्ने प्रयत्न गरिरहेको देखिन्छ। यी लगानीकर्ताहरूले सही समयको खोजी गरिरहेका छन्, जसले बजारलाई नयाँ गतिशीलता दिने सम्भावना रहेको छ।
नेप्से सूचक लामो समयदेखि २६ सयको लाइनमा घुमिरहेको अवस्थामा बजारले तत्काल नयाँ दिशा लिन नसके पनि पर्ख र हेरको रणनीति अपनाइरहेका लगानीकर्ताहरूका लागि मौद्रिक नीति, लाभांश सिजन, र ठूला लगानीकर्ताहरूको मानसिकतामा परिवर्तन हुनसक्छ। यदि नियामक निकायले लगानीकर्ताका मागलाई सम्बोधन गर्दै केही सुधारात्मक नीतिहरू लागू गर्यो भने बजारमा उत्साह देखिन सक्ने सम्भावना छ। यसले नेप्सेमा नयाँ यात्राको सुरुवात गर्न सहयोग पुग्ने र लगानीकर्ताका लागि पनि राम्रो अवसर बन्ने अपेक्षा गरिएको छ।