१४ लाखको हात रित्तो हुने समता घरेलु लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओ अर्को महिना मात्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार मंसिर पहिलो साता बाँडफाँट हुने भएको हो ।
सार्वजनिक बिदा हुँदा डाटा भेरिफाइको काम समेत सुरु हुन नसकेको क्यापिटलले जनाएको छ । ‘बैंकिङ समस्याको कारण डाटा भेरिफाईको काम सुरु भएको छैन । सकेसम्म अर्का साताको अन्तिममा नत्र अर्को महिनाको पहिलो साताको सुरुवातमै बाँडफाँट हुन सक्नेछ ।’ क्यापिटलले भन्यो ।
कम्पनीको एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको एफपिओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको हात रित्तो हुने भएको हो ।
सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको हो । जुन मागभन्दा ६०.७८ गुणा बढी आवेदन हो ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४ हकप्रद शेयर बिक्री खुला गरेको थियो । जसमा ३५ हजार ९० जनाले मात्रै १०।१० कित्ताका दरले एफपिओ हात पार्नेछन् । सोहि मध्येका ४ जनाले थप १ कित्ता शेयर पाउनेछन् ।
साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पूँजी पुर्याउन हकप्रद निष्काशन गरेको थियो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।