राष्ट्रिय बीमा कम्पनीले प्राधिकरणलाई लत्याउँदै, बाढी पहिरो पीडितलाई दावी भुक्तानी दिन ढिलाई
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीले बिपत्तिको बेलामा समेत सरकार र नियामकको निर्देशनलाई लत्याउँदै बाढी पहिरो पीडितलाई दावी भुक्तानी गर्न ढिलाई गरिरहेको छ ।
भ्रष्टाचार गर्न र घुस खान पाएपछि भेरी बबई काण्डमा निर्माण नै नभएको संरचनाको दावी भुक्तानी गर्ने राष्ट्रिय बीमा कम्पनीले अहिले बाढी पहिरो पीडितलाई छरितो तरिकाले बीमा दावी भुक्तानी दिन प्राधिकरणले दिएको निर्देशन लत्याएको छ ।
गत असोज ११ र १२ गते भएको बाढी पहिरोमा २० करोड ६७ लाख भन्दा बढि दावी परेको छ । तर, बाढी गएको डेढ महिना हुनलाग्दा समेत कम्पनीले एउटा पनि दावी तिरेको छैन । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कम्पनीमा कूल १७ वटा बीमा पोलिसीमाथि २० करोडको दावी परेकोमा आजसम्म एउटा पनि दावी तिरेको छैन ।
सरकारी कम्पनीले नै दावी नतिरेपछि निजि कम्पनीहरु पनि अनेकन बाहना गरेर ढिलाई गर्ने मौका पाउने गरी राष्ट्रिय बीमा कम्पनीले बिपत्तिको बेलाको पैसा तिर्न आनाकानी गरेको पाइएको छ ।
भ्रष्टाचार गर्न र घुस खाने ठाउँमा हतार हतार निर्णय गरेर संरचना नै नबनेको अवस्थामा पनि क्षति भयो भन्दै भुक्तानी तिर्ने राष्ट्रिय बीमा कम्पनीका उच्च तहका व्यस्थापनको भूमिका शंकास्पद देखिएको छ ।
सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीमा केही महिना अघि आएका सिईओ शिवहरि श्रेष्ठले पनि नतिजा दिने गरी काम गर्न सकेका छैनन् । आफूलाई तत्कालिन प्रधानन्यायाधिश विश्वम्भर श्रेष्ठको भाइ भन्दै ‘कोटा’मा सिईओ हुन आएका श्रेष्ठको कमाउ धन्दाले बाढी पहिरो पीडित बीमितहरुले न्याय पाउन थप ढिलाई हुने आशंका गरिएको छ ।
बाढी पहिरो पीडितलाई दावी भुक्तानी नदिएको सम्बन्धमा जिज्ञाशा राख्दा सिईओ श्रेष्ठले कुनै प्रतिक्रिया जनाउन चाहेनन् ।