मनाङे जतिबेला पनि पक्राउ पर्नसक्ने, शक्ति केन्द्रको दबाबमा पन्छिदै प्रहरी
काठमाडौं । ज्यान मार्ने उद्योगमा पाँच वर्षको कैद सजाय तोकिएका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ जतिबेला पनि पक्राउ पर्ने छन् । त्यही थाहा पाएर उनी फरार भइसक्दा प्रहरी भने बहाना खोजिरहेको छ ।
यसअघिका घटनाक्रममा अदालतको फैसला बेन्चबाट फाँटमा नझर्दै आरोपीको घर घेरा हालिसक्ने प्रहरी मनाङे पक्राउबारे भने बहाना खोजिरहेको हो । सत्ताधारी दल तथा शक्ति केन्द्रको दबाबका कारण प्रहरीले मौनता साँधेको बताइएको छ । कुनै बेला नेत्र विक्रम चन्द समूहमा रहेर विध्वंश गरेको भन्दै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अदालतको दैलो नाघ्न नपाउँदै पटक-पटक पक्राउ परेको लामै फेहरिस्त छ ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले अदालतले गरेको फैसला आधिकारिक रुमा आफुहरुले प्राप्त नगरेको र फैसलासहितको पत्र आएपछि मात्रै पक्राउ गर्ने बताएका छन् ।
अदालतको पत्र पाउनासाथ आफुहरुले पक्राउ गर्ने उनको भनाई छ । उनले भनेका छन्, ‘फैसलाको पूर्णपाठ पनि चाहिएन, संक्षिप्त पाठ माग गरेका छौं । त्यो हात पर्नासाथ पक्राउ गरिनेछ । जसका लागि प्रहरी तैनाथीको अवस्थामा छ ।’ उनका अनुसार मनाङेलाई पक्राउ गर्न प्रहरीले तीनवटा युनिटलाई तम्तयार राखेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी युनिट सर्कुलर पर्खेर बसिरहेको प्रवक्ता कार्कीले बताए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार सर्वोच्च अदालतले उच्च अदालतको फैसला नै सदर गरेका कारण पक्राउ पुर्जी जारी गरिरहनु पर्ने अवस्था होइन तर, प्रहरीले आधिकारिक जानकारी पर्खिएको हुनसक्छ । उनले भने, ‘अदालतले महान्याधिवक्तालाई लेखिपठाएपछि महान्यायाधिवक्ताले प्रहरीलाई कार्यान्वयनका लागि पत्राचार गर्ने परिपाटी छ । त्यहि पर्खिएको होला, प्रहरीले ।’
यद्यपि, महान्याधिवक्ता एवं सरकारका प्रमुख कानूनी सल्लाहकार रमेश बडालले भने उच्च अदालतको लगत कायमै रहेको अवस्थामा प्रहरी कसलाई पर्खिएर बसिरहेको छ ? भनेका छन् । बीमापोष्टसँग उनले भने, ‘उच्च अदालतको लगत कायमै छ । सर्वोच्चले उच्चको फैसलालाई नै सदर गरेको हो । यसमा अरु केही थप गर्नु पर्छ जस्तो लाग्दैन ।’
के हो घटना ?
२०६१ साल वैशाख २१ गते मनाङेसहितको समूहले प्रहरीले गुन्डानाइके भन्ने गरेका मिलन गुरुङ ‘चक्रे मिलन’माथि धारिलो हतियार प्रहार गरेको थियो । सोही मुद्दाको अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले गएको मंगलबार फैसला गरेको थियो । फैसलाको पूर्णपाठ आउन बाँकी छ, फैसलालगत्तै मनाङे फरार छन् ।
चक्रे मिलनमाथि तरबार प्रहार भएपछि प्रहरीले मनाङेविरुद्ध जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतले सो मुद्दामा ज्यान मार्ने नभई कुटपिट ठहर गर्दै दुई वर्षको जेल सजाय तोकेको थियो । घटनामा संलग्न भनिएका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो । जिल्लाको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पाटन उच्च अदालतमा पुनरावेदन गरेको थियो ।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै मनाङेलाई पाँच वर्ष जेल सजाय तोकेको थियो । घटनामा संलग्न अन्यलाई सफाइ दिने जिल्लाको फैसला भने उच्चबाटै सदर भएको थियो । उच्चको फैसलापछि मनाङे पक्राउ परेका थिए ।
पक्राउपछि मनाङेले उच्च अदालतको निर्णय बदर तथा थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने सुविधाको माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका थिए । सोही निवेदनका आधारमा उनले थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने सुविधा लिएका थिए । मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा उनले २०७४ र २०७९ मा गरी दुई-दुई पटक चुनाव लडेका थिए । मनाङबाट १ (ख)बाट चुनाव जितेर दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य बनेका मनाङे पटक-पटक मन्त्री समेत बनेका छन् ।
सर्वोच्चले उच्च अदालतको आदेश सदर गरेसँगै उनको भागाभाग परेको छ । २० वर्षसम्म चलेको यो मुद्दामा मनाङेले दुई पटक कैद सजाय भुक्तान गरेका छन् । पहिलोपटक २ वर्ष र दोस्रोपटक ८ महिना कैद भुक्तान गरिसकेकाले अब यो पनि हालको सजायमा गणना हुने बताइन्छ । यद्यपि, उनले आगामी ६ वर्षसम्म चुनाव लड्न नपाउने बताइन्छ । मंगलबार अदालत परिसरबाटै फरार उनले प्रहरीसमक्ष आत्मसमर्पण गर्ने तयारी गरेको समेत चर्चा चलिरहेको छ ।