कुलमानलाई हटाउन लागि परेका ऊर्जाराज्यमन्त्री कान्छारामको ठेकेदार कम्पनीनै कालोसूचीमा (सूचीसहित)
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्स्ट्रक्सनसहित १३ कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले गोरखापत्रमा सूचना प्रकाशित गरी १३ कम्पनीलाई एक वर्षदेखि साढे दुई वर्षसम्म काम गर्न नपाउने गरी कालो सूचीमा राखेको हो ।
कालोसूचीमा पर्नेमा ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री एवम् कांग्रेस रामेछापका सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) मुख्य व्यक्ति रहेको कान्छाराम कन्स्ट्रक्सन, रमिला लामा मुख्य व्यक्ति र दिपक थिङ आधिकारिक व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।
‘ए’ ग्रेडका ठेकेदार कान्छाराम अहिले उर्जा राज्यमन्त्री छन् भने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन उनैले जोडबल गरेका बुझिएको छ । उनले ऊर्जामन्त्री दिपक खड्कालाई कुलमानलाई हटाउन बारम्बार दबाब दिइरहेका छन् ।
त्यति मात्र नभई उनैको योजनामा केही अख्तियारमा उजुरी हाल्न लगाइएको र ट्रान्सफर्मर खरिदको विषयमा प्रचारबाजी गरिएको बताइन्छ । कुलमान र कान्छारामहरुबीच पहिल्यैदेखि पारिवारिक दुष्मनी रहेको समेत बताइन्छ ।
सांसद बनेपछि कान्छारामले कम्पनी आफ्नो नाममा नरहेको दाबी गर्दै आए पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा उनैको नाम उल्लेख छ । कान्छाराम कन्स्ट्रक्सनले थुप्रै आयोजना ओगटेर अलपत्र पार्ने गरेका कारण पटक-पटक विवादमा तानिने गरेका छन् ।
यस्तै, बुद्धिमान गोले मुख्य व्यक्ति भएको बीजी निर्माण सेवा प्रालि पोखरा, गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन् ।