पहिलो त्रैमासमा दिव्यश्वरी हाईड्रोपावरको वित्तीय अवस्था कस्तो छ ?
काठमाण्डौँ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोे छ । उक्त विवरण अनुसार कम्पनीले नाफा आर्जन गर्न सफल भएको छ ।
अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ लाख ९५ हजार रुपैयाँ घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अवधिमा कम्पनीको वित्त खर्चमा आएको कमी र आम्दानीमा समेत सुधार आउदा कम्पनीको नाफामा जान सफल भएको हो । कम्पनीले यो अवधिमा १ करोड ४३ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा २३.५३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको वित्त खर्च १ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।
यस्तै कम्पनीको प्रत्यक्ष खर्च पनि ६१.९६ प्रतिशतले घटेर १५ लाख ७६ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी पनि ४.४१ प्रतिशतले बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले कर्मचारीका लागि १४ लाख ४५ हजार रुपैयाँ र अन्य सञ्चालनका लागि २४ लाख ८१ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको रिजर्भ फण्ड २९ करोड ८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)२.६४ रुपैयाँ ऋणात्मक रहेको छ ।