फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८ प्रतिशत घट्यो
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३८.६८ प्रतिशतले घटेको हो।
कम्पनीले गत आवको असोज मसान्तसम्म ५ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिमा घटेर ३ करोड १० लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ८ करोड १ लाख रुपैयाँबाट घटेर ६ करोड रुपैयाँमा झरेको छ।
यता कम्पनीको सञ्चालन नाफा ७ करोड २४ लाख रुपैयाँबाट घटेर ४ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ। यसै अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ९ करोड ८ लाख रुपैयाँबाट घटेर ५ करोड ९९ लाख रुपैयाँमा कायम भएको छ।
समीक्षा अवधिमा खराब कर्जा १.९१ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) १६.०६ रुपैयाँबाट घटेर १०.०८ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.३२ रुपैयाँ छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब २३ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङमा १३ करोड ३८ लाख रुपैयाँ र रिजर्भमा ३० करोड १९ लाख रुपैयाँ छ।