पुँजी बजार ओरालो यात्राको निरन्तरताः कारोबार ५ अर्ब माथि, किन भइरहेको उतार–चडाब ?
काठमाडौँ । बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार लगतार तीन दिन घट्न पुगेको हो । तिहारपछि आकर्षक सुधार आउने अपेक्षा गरेको लगानीकर्ता निराश बनि रहेको छन् ।
बैंक र अन्य वित्तीय संस्थाहरुले आफ्नो पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् भने, बिमा लगायत अन्य समूहका कम्पनीहरूको विवरण भने आउन बाँकी छ। यसै क्रममा, सूचीकृत कम्पनीहरुले पनि धमाधम लाभांश घोषणा गर्न थालेका छन्। यसले लगानीकर्तामा सकारात्मक असर पार्ने अपेक्षा गरिएपनि, अहिलेसम्म बजारमा खासै ठूलो उत्थान देखिएको छैन ।
शेयर बजारमा धैर्यताको महत्वपूर्ण भूमिका रहेको विश्लेषकहरु बताउँछन्। बजारले एउटा बुल या बियर चक्र पूरा गर्न वर्षौं समय लाग्न सक्छ। अहिले बजार बुलिस चक्रमा रहेको विश्वास गरिएको छ, र यस चक्रको पूरा हुन अझै २–३ वर्ष लाग्न सक्ने सम्भावना छ। यसबीचमा बजारमा पटकपटक करेक्सन आउने छन् र यी सबै करेक्सनहरु पार गर्दै बजार अघि बढ्ने देखिन्छ
लगानी गर्दा, होल्ड गर्ने समय निश्चित गर्नु महत्त्वपूर्ण छ। विशेषज्ञहरुका अनुसार, निश्चित समयसम्म होल्ड गरेर लाभांश प्राप्त गर्न सकिन्छ, जसले साना उतारचढावबाट बच्न मद्दत पुर्याउँछ। बजारमा नयाँ पैसा र नयाँ लगानीकर्ताको प्रवेशले मात्र ठूलो बुल चक्रको सम्भावना बढाउँछ ।लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले अपेक्षा अनुसार गति लिन नसकेको आंकलन भइरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८८ अकंले घटेर २६७५.५१ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार चार उपसूचकमा मात्र हरियाली देखिएको छ । यसदिन विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.७९ प्रतिशत, हाइड्रोपावर समूहको ०.४६ प्रतिशत र व्यापार समूहको ०.२९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १२१ कम्पनीको शेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ ।